१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो नारायणी नदी सम्मेलन

गैँडाकोट, २ फागुन
१२ बुँदे घोषणापत्र जारी गर्दै नारायणी नदी सम्मेलन सकिएको छ । घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दीगोपनाका विषय समेटिएका छन् ।
जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ । सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय उल्लेख गरिएका छन् ।

कार्यक्रमको समापन सत्रका वक्ताहरुले सबैजना हातेमालो गर्दै अघि बढे नदी स्वच्छता कायम राख्न सकिने बताए । उनीहरुले यसमा स्थानीय पालिकाहरुले जिम्मेवारी बोध गरी अघि बढ्नुपर्ने बताएका थिए । उनीहरुले अधिकारका कुरा उठाउँदै गर्दा कर्तव्य नभुल्न आग्रह गरेका छन् ।
कार्यक्रममा गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले घोषणापत्रमा भएका कुरा लागु गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएको बताउँदै उनले सरसफाई कायम राख्न सबैलाई आग्रह गरे ।

सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सचेतना फैलाउने, सिमसार क्षेत्रहरुको संरक्षण, नदीमा आश्रित तटीय क्षेत्रका परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने लगायत क्रियाकलापसँगै तीनै तहका सरकारलाई घचघचाउने काम गरेको बताए । साथै उनले सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गरेका थिए ।
ग्रिन पिक्सेलका परामर्शकता बासुदेव न्यौपानेले घोषणापत्रबारे जानकारी गराएका थिए । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरे, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, संरक्षणकर्मी राजेश शाह लगायतले बोलेका थिए ।

दुई दिनसम्म चलेको सम्मेलनमा करिब २ दर्जन कार्यपत्र प्रस्तुत गरिएका थिए । डब्लुडब्लुएफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको ‘सिमसार क्षेत्र पुनर्स्थापना र नारायणी तटीय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सम्मेलन भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट