राप्ती, २ फागुन ।
राप्ती नगरपालिका १ पिप्ले बस्ने विश्वनाथ गौतमले जन्मदिनको अवसरमा राप्ती-३ धमिलिको चेपाङ बस्तीमा खाद्यान्न सामग्री वितरण गरेका छन् । गौतमले गरिबीको रेखा मुनि रहेका चेपाङ समुदायको बस्तीमा पुगि १० घर परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । उनले सो परिवारलाई चामललगायतका सामग्री उपलब्ध गराए ।
पछिल्लो समय युवाहरुमा देखिएको भड्किलो खर्चलाइ कटौती गर्दै यसरी फरक किसिमले जन्मदिन मनाउँदा आफूलाई अत्यन्तै खुशी लागेको गौतमले बताए । आगामी दिनहरुमा पनि जन्मदिनमा अनावश्यक खर्च नगरि सामाजिक कार्यमा लगानी गरिने उनले बताएका छन् ।
गौतम आफै मृगौला रोगबाट लामो समय बिरामी भएका थिए र केही समय अगाडि मात्र उनले मृगौला प्रत्यारोपण गरेका थिए । उनले आफू बिरामी पर्दा साथीभाइबाट पाएको सहयोगको स्मरण गरे । `यो सानो सहयोग हो, थाहा छ तर यही सानो सहयोग ठूलो हुन्छ भन्ने कुरा मैले भोगेको छु´, उनले भने ।
गौतम एक सफल युवा व्यवसायी हुन् । उनी राप्तीमा सञ्चालित राप्ती एफएम ९०.५ मेगाहर्जमा समेत कार्यरत छन् ।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र राप्ती नगर इन्चार्ज मानबहादुर स्याङ्बोले यस्तो कार्यमा सरिक भएकोमा गौतमको प्रशंसा गरे । उनले गौतमलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवराज पाठक (श्याम), गोपाल विश्वकर्मा, बिना उप्रेती, प्रकाश उप्रेतीलगायतको उपस्थिति थियो ।





