जीवन र समाजका कथाका अनेकौं रङ्गहरू दलदलमा छन्

हिरा लामाको `दलदल´ हालै प्रकाशनमा आएको उपन्यास हो । इन्डिगो इन्क पब्लिकेसन्सले यो पुस्तक प्रकाशन गरेको हो । विभिन्न कारणले दलदलमा फरेका पात्रलाई आधार बनाएर लेखिएको यो सामाजिक कथावस्तुको उपन्यास भएको लेखकले बताएका छन् । `दलदल´ हिरा लामाको पहिलो उपन्यास हो । यसअघि उहाँका `बाज र परेवा´ (लघुकथा सङ्ग्रह) र `जेब्रा र हुँडारहरु´ (कथा सङ्ग्रह) प्रकाशित छन् । नेपाली किताबको बजारमा यतिबेला चर्चामा रहेको उपन्यास `दलदल´का सन्दर्भमा रहेर हामीले लेखक लामालाई ५ वटा प्रश्न गरेका छौँ :

दलदलको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
सकरात्मक छ । खुशी छु । पाठकहरुले मन पराउनु भएको छ । केही पाठकहरुले पात्रको चरित्र निर्माण र चित्रणमा अलिबढी ध्यान दिनुपर्ने सुझाव दिनु भएको छ । केहिले कथाको बीच भागमा केही अलमलिएको हो कि पनि भन्नू भएको छ । किताबको मोटाई अनुसार मूल्य अलि थोरै धेरै हो कि ! पनि भन्नुभएको छ । पाठकहरुको सुझावलाई सप्रेम स्वीकारेको छु । दलदल मेरो पहिलो प्रयास हो । कमी कमजोरी छन् नै । आउने दिनमा मैले मेरो कमजोरीहरुलाई सकभर कम बनाउँदै लाने छु ।

दलदल कसरी जन्मियो ?
दलन र दलदलमा परेका, पारिएका र पर्दै गरेका केही पात्रहरुको कथालाई साहित्यिक कुचीले रङ्ग भर्दै जाँदा दलदल जन्मियो ।
वास्तवमा दलदलको गर्भधान करीब एक दशक अघि भएको हो । गर्भधानको करीब तीन चार महिना भित्रमा यसलाई पूर्ण रुप दिएँ । यसपछि म पुगेँ मित्र रमेश ‘ प्रभात ‘ लाई भेट्न । प्रभात सरको केही पाठकीय टिप्पणीलाई ध्यानमा राखेर अलिकती हेरफेर गरेँ अनि पुगेँ मित्र भूपिन सम्म । भूपिनजीको टिप्पणीले मलाई थप हौसला दियो । म अझ उत्साहित भएँ । भाषा र केही प्लटलाई परिमार्जन गरेँ । अनि दलदललाई पुर्‍याईयो काठमाडौँको एउटा प्रकाशन गृहसम्म । दलदलको काठमाडौँ बसाईको अनुभव उस्तो राम्रो रहेन । करीब एक वर्षपछि उक्त प्रकाशन गृहले एक भेटमा दलदल बारे केही टिप्पणी लेखेर दिए । अनि म अलमलमा परेँ । करीब एक वर्ष म त्यतिकै बसेँ । दलदललाई थन्काएँ ।
दलदल केही पात्रको लागि ओपन एन्डिङ कथा हो । चिनी र उगेनको कथालाई लिएर यो बिचमा दलदल २ को पहिलो ड्राफ्टलाई पूर्णता दिएँ । अनि त्यसलाई पनि थन्काएँ र दलदलमा फेरि एक पटक हल्का काम गरेँ अनि सम्पर्क गरेँ पहिलेकै प्रकाशन गृहलाई । उताबाट ग्रीन सिग्नल आयो । मैले इमेल गरि पठाएँ । यो पहिलो लकडाउनको अन्तिम तिरको समय थियो । त्यसपछि म प्रतीक्षामा बस्न थालेँ । पर्खाई लम्बिदै गयो । यहि बीचमा मलाई लाग्यो, `दलदल’ अब यो प्रकाशन गृहबाट निस्किने वाला छैन । यो सोच्दै थिएँ एकदिन भाइ निर्दोष जीवनसँग यहि विषयमा कुरा भयो र एकदिन दुबै हुत्तियौँ बागबजारको एउटा भित्री गल्लीमा जहाँ हाम्रो भेट भयो ईण्डिगो ईन्कसँग । बिष्णुजीसँग । यो यहि सालको असार महिनाको अन्तिम हप्ताको कुरा हो । त्यसपछि पहिलो प्रकाशन गृहसँग कुरा गरेँ । उताबाट फेरि ग्रीन सिग्नल आयो । अनि यताबाट दलदल माघमा जन्मियो ।

दलदल कुन वर्गका पाठकका लागि हो ?
दलदल सबैको लागि हो । उमेरको हिसाबले भन्ने हो भने विशेष रुपले ट्वेन्टी टु फोर्टी । यसको मतलब अरु उमेर समूहको लागि हैन भन्न खोजेको हैन । तर एउटा कुरा के चाहिँ हो भने दलदल गम्भीर पाठकको लागि नहुन सक्छ । जीवन र समाजको बृहत पक्ष बुझ्न चाहने पाठकहरुको लागि दलदल नहुन सक्छ । जसले दलदलमा गम्भीर दर्शनको अपेक्षा राखेर पढ्नु हुन्छ , वहाँहरुको लागि नहुन सक्छ । दलदल साधारण छ । सरल छ । यसमा समाज र जीवनको जटिलतम मुद्दा र विषयको उठान गरेको छैन । यसर्थ धेरै अपेक्षा राखेर दलदल पढेमा निराश हुने सम्भावना पनि त्यतिकै छ ।

दलदल किन पढ्ने ?
कस्तो गार्‍हो प्रश्न ! म साहित्यको औपचारिक विद्यार्थी हैन । तर साहित्यमा थोर बहुत रुचि राख्छु । कहिले काहीँ साहित्यका किताब यसो पढी पनि हाल्छु । ननिकाल्नु किताब निकाले पछि मलाई पनि कसैले पढिदेओस् भन्ने ईच्छा मनको एउटा कुनामा टुसाउँदो रहेछ । सायद यस्तो अरुमा पनि हुन्छ कि ! वा नहुन पनि सक्छ । तर मेरोमा चाहिँ भयो ।
रह्यो दलदलको कुरा । दलदल किन पढ्ने त ?
जीवन र समाजमा अनेकौ रङ्गका कथाहरु हुन्छ्न् । यिनै कथाहरु मध्ये मैले केहीलाई शब्द मार्फत दलदलमा उतारेको छु । खासगरी प्रेम , गरिबी , राजनिती र जातीय विभेदको विषयलाई मैले उठान गरेको छु । हो , हामी सबैको कथा करीब करीब एउटै हो । हामीले बाँची आएको , बाँचिरहेको हाम्रो समाज र समयको कथा करिब करिब एउटै हो । दलदलमा हाम्रो मैलो समाजको, समस्याग्रस्त समाजको प्रतिबिम्ब छ । सायद आफ्नै समयको तस्बीर दलदलमा पाईन्छ कि !

दलदलको रहस्य के हो ?
हाम्रो समाजको दलदलको रहस्य हामी सबैलाई थाहा नै छ । हामी यहि समाजमा जन्मियौँ , हुर्कियौँ । पढ्यौँ । बढ्यौँ । हामीलाई हाम्रो समाजको संरचना थाहा छ । हाम्रो समाजमा व्याप्त जातीय विभेद थाहा छ । यो विभेदले दिएको गहिरो घाउ र पीडा थाहा छ । यो विभेदको अग्लो पहाड कहिले समथर हुने हो ? कहाँ होला यो विभेदको पहाडलाई हान्ने डोजर ? कस्ले चलाउँछ होला त्यो डोजर ?
हामीलाई हाम्रो राजनैतिक तथा शैक्षिक बेईमानीको कथा पनि थाहा छ । देशकै पुरानो , प्रतिष्ठित भनिएको विश्वविद्यालयमा हुने खुलेआम थेसिस किनबेचको कथा थाहा छ । निजी विद्यालयमा हुने चरम आर्थिक तथा शैक्षिक शोषण थाहा छ । शिक्षामा भएको व्यापारीकरणको कथा थाहा छ । यो व्यापार र शोषणको जालो कस्ले च्यात्ने हो ? कहिले जन्मिने हो त्यो मसिहा ?
यो देशमा नेताहरुको चरम सत्तामोह कहिले सम्म चल्ने हो ? जनतालाई वास्तवमै केन्द्र विन्दुमा राखेर राजनिती गर्नेहरुले कहिले योजना बनाउने हो ? राजनितीको व्यापार कहिलेसम्म चल्ने हो ? डनवाद कहिलेसम्म चल्ने हो ? व्याप्त भ्रस्टाचारको जालोमा कहिले आगो लाउने हो ? कसले लगाउने हो त्यो आगो ? कोसँग छ आगोको त्यो झिल्का ?
कुनै दिन विदेशीलाई खाद्यान्न निर्यात गर्ने देश आज आफ्नै जनता निर्यात गर्दैछ । रेमिट्यान्सले कति दिन अर्थतन्त्र धान्ने हो ? राजनीति गर्नेको दिमागमा कस्ले घन हान्ने हो ? कस्ले सोझ्याउने हो तिनीहरु दिमागलाई ? कस्ले सहि गोरेटोमा ल्याउने हो देशको राजनितिलाई ?
प्रेम एउटा सरल र प्रीय विषय हो । तर कहिलेकाँही जानेर वा नजानेर हामी आफैले बनाई दिन्छौ प्रेमलाई एउटा अति जटिल र सकसपूर्ण । अनि बन्न जान्छ प्रेम एउटा समस्या र थाहै नपाईकन हामी पर्न जान्छौ एउटा दलदलमा । प्रेमको यस्तो दलदलमा हामी किन र कसरी पर्न जान्छौ ? किन अप्ठ्यारो हुन्छ प्रेमको दलदलबाट बाहिरिन ?
सायद यिनै यिनै हुन दलदल भित्रका दलदल ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट