गैँडाकोट, २३ माघ
कोटिहोमस्थल गैंडाकोट–१०, पितौँजीमा सोमबारदेखि सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमले आश्रमस्थलको बृहत् गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागेको हो ।
फागुन १ गतेसम्म संचालन हुने ज्ञान महायज्ञको तयारी पूरा भएको आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिए । महायज्ञको शहरी विकासमन्त्री बिक्रम पाण्डेले उद्घाटन गर्ने उनले बताए ।
बिहान ९ बजेदेखि कलश शोभायात्रा र १२ बजे उद्घाटन कार्यक्रम तय गरिएको महायज्ञका सहसंयोजक एवं आर्थिक समितिका संयोजक वेदप्रसाद गौडेलले बताए । योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटिहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा समावेशी २४ जना बटुकहरुलाई अध्ययन गराइँदै आएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताए ।
करिब १० बिघा क्षेत्रफलमा फैलिएको कोटिहोममा आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको मन्दिरका अध्यक्ष मनहरि कँडेलले बताए । महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको महासचिव नरहरि सापकोटाले बताए ।
आश्रमको सङ्कल्प पूरा गर्नका लागि सबैलाई सहयोग गर्न प्रचारप्रसार उपसमितिका संयोजक देवीदत्त कँडेलले आग्रह गरे । यहाँ करिब १० बिघा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगी नरहरिनाथ अध्यात्म विज्ञान गीतापाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रित छन् । आवासीय रूपमा उनीहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ ।
कक्षा ६ र ७ मा अध्ययनरत उनिहरुको शिक्षादिक्षा समेत समाजबाट उठेको सिदा र उत्सवमा आउने रासनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझी, ठकुरी, क्षेत्री समुदायका बटुक रहेका छन् । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठनपाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ ।
यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहँदै आएको दुर्गा भगवती, गणेश, शिव आदि आराध्य देवदेवीहरूको पूजा–अर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ ।
श्रीमद्भागवत सप्ताह ज्ञानमहाज्ञको आयोजना गरी वैदिक सनातन धर्म, संस्कार र संस्कृतिप्रति समाजमा सचेतना जगाउने किसिमले भागवत ज्ञानको प्रवाह गर्ने उद्देश्य राखेको छ । पूर्वाधारविहीन अवस्थामा सञ्चालन हुँदै आएको समावेसी गुरू संस्कृत विद्यापीठ सञ्चालनको लागि आवास भवन तथा विद्यापीठ भवन निर्माण गर्दै सञ्चालनमा ल्याउने रहेको छ ।
आवश्यक सुविधायुक्त अतिथि गृह (धर्मशाला) भवन निर्माण गरी सेवा सुविधा प्रदान गर्ने, गौ संरक्षण हेतु आधुनिक गौशालाको व्यवस्थापन गर्ने, गुरु गोरखनाथको मन्दिर भवन निर्माण गर्ने रहेको छ । सम्भव भएसम्म गुरुयोजनाका अन्य संरचना योग तथा प्राकृतिक चिकित्सालय भवन योग साधना केन्द्र आदिको निर्माण गर्दै जाने उद्देश्य राखेको छ ।





