शिक्षा र सामाजिक विकास

दृष्टिकोण
पवन सुवेदी
मानवलाई सभ्य, सुसंस्कृत, स्वावलम्वी, दूरदर्शी, अनुशासित, चलाख बनाउने र ज्ञान बढाउने साधना शिक्षा हो । शिक्षाले मानवलाई व्यक्तिगत र सामाजिकरुपमा परिवर्तन गर्ने फराकिलो क्षमता राख्दछ । शिक्षा व्यक्तिगत र सामाजिक विभेदमा समानता ल्याउने प्रभावकारी साधन हो, यो मानव जीवनमा अपरिहार्य छ । शिक्षा मानवीय व्यवहारिक ज्ञानसँग मिल्न सकेको खण्डमा यसले सामाजिक विकृति र विसंगतिलाई समुदायबाट परास्त गर्न एउटा धारिलो अस्त्र बन्न सक्छ । असल शिक्षा त्यस्तो हुन्छ, जसले नकारात्मक प्रवृत्तिमा ढल्किएको सोचाइलाई सही मार्गमा पदस्थापन गराउँदछ अर्थात सकारात्मक र परिवर्तनकारी सोचतर्फ आकर्षित गर्दछ । शिक्षा त्यस्तो हुनुपर्दछ, जसले मानवीय व्यवहारमा परिवर्तन र सोचमा नयाँपनको द्वार खोल्न सकोस् । मानव अथाह ज्ञानको सागर हो । तर, भण्डारमा सुप्त अवस्थामा रहेको ज्ञानलाई मन्थन गरेर बाहिर ल्याउनमा असल शिक्षाले महत्वपूर्ण भूमिका खेल्दछ ।

आजको समयमा कस्तो शिक्षालाई भरपर्दो मान्ने छुट्याउन गाह्रो भएको अवस्था छ । हामीले दिएका गुणस्तरीय शिक्षा विदेशी भूमिमा निम्नस्तरमा बेचिएका छन् । यसको एउटै कारण हुनसक्छ, हाम्रा शिक्षा प्रयोगमुखी वा मानवीय व्यवहारमुखी हुन नसक्नु हो । यो गुणस्तरीय शिक्षाले हाम्रो समुदाय, देश र सामाजिक विकासमा कसरी टेवा पुयाउन सक्ला यसलाई सहजै अनुमान गर्न सकिन्छ । शिक्षाले योग्य, दक्ष र प्रभावशाली व्यक्तित्वको निर्माण गर्न सक्छ, यसको लागि हामीले दिइरहेको शिक्षालाई मानवीय व्यवहारमा समर्पित गर्नु आवश्यक छ । यस्तो शिक्षाबाट जन्मिएका वर्गले समाजको परीक्षण र सामाजिक विकासको पहिचान गर्न कोशेढुंगा सावित हुन्छन् । शिक्षामा हाम्रो एउटै समस्या कुनैपनि महत्वपूर्ण विषयवस्तुको छनोट गरी त्यसको समाधान पूर्व परिकल्पना र अभ्यास गर्ने र गराउने बानीको कमी छ । आफू अनविज्ञ भएका विषयवस्तुमा विज्ञ तथा शिक्षासम्बन्धी विषयमा महारथ हासिल गर्नुभएका अग्रजबाट जानकारी लिने प्रयास नगरी शिक्षा दिन सुरु गर्नु पनि शिक्षाको अर्को हाम्रो कमजोर पक्ष हो । विषयवस्तुमा आफ्नो पहुँच नहुँदा नहुँदै आफूलाई सक्षम र योग्य सावित गर्ने हठ वा अहम्ले पनि शिक्षालाई कमजोर बनाइरहेको अर्को कारण हामीमा विद्यमान छ । हाम्रा यस्ता गतिविधिले शिक्षा लिने वर्गले निडर र आश्वस्त भई विषयको सहजरुपमा शिक्षा लिन सकिरहेका छैनन् । त्यसैले विषयवस्तुको विश्लेषण पूर्व मानसिकरुपमा पूर्वाभ्यास गर्नु, ध्यानदृष्टि दिनु उपयुक्त हुनेछ । त्यसैले शिक्षालाई एकोहोरो रुपमा विश्लेषण गरिरहनु उपयुक्त नहुन सक्छ । विषयवस्तुसँग सम्बन्धित कुराहरुलाई सोध्ने र सोध्न लगाउने गर्दै अघि बढ्नु शिक्षामा राम्रो प्रयास हुन्छ ।
शिक्षालाई समयानुसार सही ढंगले प्रस्तुत गर्नु र परिस्थितिअनुसार मानवीय व्यवहारमा उतार्न सक्ने, सामाजिक विकासका पक्षहरुलाई अनुसरण र नयाँपनमा बढीभन्दा बढी योगदान दिनेतर्फ ध्यान पु¥याउन जरुरी छ । शिक्षा–शिक्षा भनेर नारा र भाषण मात्रै गर्नु पर्याप्त छैन । शिक्षा सामाजिक विकासको आधार हो भनेर मात्रै पनि पुग्दैन । यसलाई प्रयोगमुखी मानवीय व्यवहारसँग जोड्न सबै पक्षले हृदयंगम गर्न अपरिहार्यता छ । वास्तवमै भन्ने हो भने शिक्षाको सामाजिक विकाससँग प्रत्यक्ष सम्बन्ध छ ।
असल शिक्षाले समुदायमा प्रशस्त सम्भावनाका मार्ग खोल्न सक्छ, यदि त्यसमा अग्रजहरुको सोचमा नयाँको सोचलाई जोड्न सकेमा यसबाट हाम्रो सामाजिक विकासको साथै अन्य परिवर्तनशील सोच र दिशामा नयाँ आयाम ल्याउन सकिन्छ । आज हामीले दिने गरेको शिक्षा यस्तो छ कि यसले मानवीय क्षमतामा कत्तिपनि वृद्धि विकास गर्न सक्दैन, यहाँ विषयवस्तुको उचित तयारीविना नै शिक्षाको भाषण दिन सुरु गरिन्छ । के यस्तै तरिकाले दिएका शिक्षाले साँच्चै सामाजिक परिवर्तन र विकास गर्न सक्ला ? यस्तो शिक्षाले कौतुहलता जागृत गर्न सक्दैन, अन्योल र भयको भावना पैदा गर्दछ । त्यसैले विषयवस्तुको शिक्षा दिनुपूर्व यसको घनिभूत तयारी गर्नुपर्दछ र विषयलाई थोरै नै किन नहोस् व्यवहारिक पक्षसँग जोड्नुपर्दछ, यसले शिक्षामा उत्साह र उमंगको वातावरण विस्तारै तयार गर्दै जान्छ । फलस्वरुप समुदायमा सामाजिक विकासको संचारले गति लिन थाल्छ ।
शिक्षा दिँदा विषयवस्तुलाई विशेष महत्व दिने र अनावश्यक सन्दर्भलाई नजोड्नु राम्रो हुन्छ । शिक्षा लिने वर्गले विषयवस्तुमा केन्द्रित प्रश्न सोधेमा रिसाउने, झर्कने र आवेगमा आई प्रश्नकर्तालाई बाहिर निकाल्ने जस्ता कार्यलाई त्याग्नु, कुशलतापूर्वक प्रसंग मिलाई मनोविज्ञान बुझेर सिधा र स्पष्टरुपमा उत्तर दिनु जुन संयम र सन्तुलित भई शिष्ट भाषामा जवाफ दिने र गराउने व्यवहारको विकास गर्नुपर्दछ । आज हामीले जस्तो संस्कार दिन्छौं, त्यसले भविष्यमा त्यस्तै संस्कारको जग बसाल्दछ ।
सामाजिक विकासमा शिक्षालाई सही ढंगले कार्यकौशलको प्रयोग गर्दै शिक्षातर्फ आकृष्ट गर्ने भरमग्दुर प्रयत्न गरौं । शिक्षा विषयवस्तुमा राम्रो ज्ञान भएपछि असामान्य स्थिति प्रदर्शन नगरी शिक्षा लिने वर्गलाई शालिन मुद्रामा शिक्षा दिनु र त्यो शिक्षालाई व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र सामाजिक विकासतर्फ ढाल्न सकेमा हाम्रो शिक्षाको स्तर वृद्धि हुँदै जान्छ । शिक्षा भड्किलो, टमक्क मिलेको नभई आत्मविश्वास जागृत गराउने सत्य र औपचारिकरुपमा सुहाउँदो हुनुपर्दछ । यो शिक्षाले मात्र सामाजिक विकासमा अग्रणी भूमिका खेल्न सक्दछ । शिक्षा सामाजिक विकासको माध्यम बनोस् अनावश्यक वादविवाद, टिकाटिप्पणी र बहसको तारो नबनोस् । शिक्षाको क्षेत्र शान्तिपूर्ण बनोस् ।

गैंडाकोट–१,नवलपरासी

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट