भरतपुर,२२ कात्तिक ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले निर्वाचन आचरसंहिता पालना गर्न आग्रह गरेको छ । भरतपुरमा आयोजित पत्रकारसँगको साक्षात्कारमा कार्यालयले निर्वाचनलाई स्वतन्त्र र विश्वसनीय बनाउन सबैलाई आचारसंहिता पालना गर्न अनुरोध गरेको हो ।
निर्वाचन आचारसंहिता २०७२ हाल कार्यान्वयनमा छ । यो आचारसंहिता असोज २३ गते तेस्रो पटक संशोधन भइसकेको छ । निर्वाचन आयोग ऐन–२०६३ को दफा २८ ले दिएको आधिकार प्रयोग गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको हो ।
मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले आचारसंहिताबारे सबैलाई जानकारी दिन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । “आचारसंहिता पालना गर्नु हामी सबैको दायित्व हो”, उनले भने, “उल्लंघन गर्नेविरुद्ध निर्वाचन कसुरअनुसार कारबाही हुन्छ, कडा अनुगमन थालिने छ ।” उनले आचारसंहिता उल्लंघन भएको भनेर हालसम्म कुनै सूचना आइनसकेको बताए । “उम्मेद्वारी दर्ता भइसकेको छ, निर्वाचन प्रचारप्रसारमा दलहरु लागेका छन्”, उनले भने, “आचारसंहिता सबैका लागि हो, कहिँकतैबाट उल्लंघन भएको पाइए कडा कारबाही हुनेछ ।”
उनले उल्लंघन भएको पाइए लिखित वा मौखिक उजुरी दिनसमेत आह्वान गरेका छन् । “हामी निर्वाचनलाई मर्यादित र पारदर्शी बनाउन चाहन्छौँ”, उनले भने, “आचारसंहिताविपरीत चुनावी कार्य गर्ने छुट कसैलाई छैन ।” उनले चितवनका सबै उम्मेद्वार वा दलीय प्रतिनिधिबीच बसेर आचारसंहिता पालना गर्ने प्रतिबद्धता मागिने बताए ।
आचारसंहितामा के छ ?
आचारसंहितामा उम्मेद्वार वा राजनीतिक दलको निर्वाच्न चिह्न अंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो झोला, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्ने, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, खम्बा वा संरचनामा लगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने व्यवस्था छ ।
जुलुस, आमसभा, ¥याली, बैठक वा प्रचारप्रसारका कार्यक्रम बिहान ८ बजेदेखि ७ बजेसम्म मात्र गर्नुपर्ने उल्लेख छ । निर्वाचन प्रसारप्रसारका लागि मोटरसाइकलगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडा जस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेद्वारले निर्वाचन प्रचारप्रसारका लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा ४ वटा चारपाङ्ग्रे हलुका सवारीसाधन र बढीमा ४ वटा मोटरसाइकल वा त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा ४ वटा घोडा प्रयोग गर्न सक्ने उल्लेख छ । प्रदेशसभा सदस्यका उम्मेद्वारले २ वटा चारपाङ्ग्रे हलुका सवारीसाधन र ४ वटा मोटरसाइकल वा त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुई वटा घोडा प्रयोग गर्न सक्ने उल्लेख छ ।
राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमति लिई एउटा जिल्लामा बढीमा दुई वटा चारपाङग्रे हलुका सवारीसाधन वा त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने उल्लेख छ । सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्दा कम्तीमा १ घण्टाको अन्तरालमा चौविस घण्टामा बढीमा ४ पटक र एकपटकमा बढीमा १ मिनेटसम्म प्रशारण गराउन सक्ने उल्लेख छ । पत्रपत्रिकामा प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इञ्च÷७ इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्रै प्रचार सामग्री छपाउन सक्ने उल्लेख छ । प्रतिनिधिसभा सदस्यका उम्मेद्वारले विज्ञापन दिदा बढीमा १ मिनेट, प्रदेशसभा सदस्यका उम्मेद्वारले बढीमा ४५ सकेण्ड प्रसारण गर्न पाउनेछन् ।





