२२ कात्तिक ।
आसन्न निर्वाचनलाई लक्षित गरी चितवनमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विगतका निर्वाचनबाट पाठ सिकेर जिल्ला सुरक्षा योजना तयार भएको बताए ।
उनले सुरक्षा अभाव हुन नदिन लागिपरेको बताए । सुरक्षा निकायका चारै वटा निकायबीच उच्च सहकार्य गरेर नियमति चेकजाँच, निगरानी लगायतका काम भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले संगठित अपराधको जालो भत्काउन संयन्त्र लागिपरेको बताए । उनले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी संयन्त्र परिचालित भएको बताए । उनले टोले, फ्याउरे, संरक्षित, व्यवसायिक र राजनीतिक गुण्डाको वर्गीकरण गरेर १ सय २० वटा समूह पहिचान गरी कारवाही भएको बताए ।
उनले व्यावसायिक गुण्डाको खोजी कार्य भइरहेको बताए । उनले अवैधरुपमा हातहतियार, लागूऔषध बिक्री वितरण तथा ओसारपसार, अवैध भट्टी पसल मदिरा उत्पादन तथा बिक्रीलगायतका कार्य रोक्न विशेष टोली परिचालन भएको बताए । उनले लाइसेन्स लिएका हतियार यही मसान्तभित्र सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरे ।
उनले छिट्टै जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गर्ने बताए । चितवनमा १ सय ८७ थान हतियार लाइसेन्स लिएर सर्वसाधारणले राखेको अभिलेख छ । स्थानीय तह निर्वाचनमा २९ थानमात्रै हतियार बुझाएका थिए । हतियार नबुझाउनेको सूची तयार गरेर कारबाही गरिने बताए । चितवनमा ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रुपमा उच्च सर्तकता अपनाइएको बताए ।





