काठमाडौँ, २६ पुस ।
नेकपा एमाले छाडेर गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि भुसालले समाजवादी पार्टीलाई ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ पठाएका छन् ।
प्रस्तावमा उनले अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक भएको उल्लेख गरेका छन् ।
भुसालनिकट स्रोतका अनुसार उनले १/२ दिनमै समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन् । भुसाललाई समाजवादीमा उपमहासचिवको जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ ।
समाजवादीका हालका महासचिव वेदुराम भुसाललाई अन्यत्र व्यवस्थापन गरी घनश्याम भुसाललाई महासचिव बनाउने तयारी भएको हो ।
स्रोतले भन्यो, “उहाँ पहिलेदेखि नै नेपालका सबै कम्युनिस्ट पार्टी मिलेर बलियो कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्नेमा हुनुहुन्छ। समाजवादीमा उहाँको प्रवेश पनि त्यही प्रयोजनका लागि हो ।”
यद्यपि, घनश्याम भुसालले भने पार्टी प्रवेशको तयारी भइरहे पनि पदका विषयमा छलफल नभएको बताए । उनले भने, “मैले एकीकृत समाजवादीलाई सबै वामपन्थी पार्टीहरूबीच सिद्धान्त र मूल्यका आधारमा एकीकरण हुनुपर्ने प्रस्ताव पेश गरेको थिएँ। त्यहाँबाट सकारात्मक प्रतिक्रिया पाएको छु। कुरा मिले पद महत्त्वपूर्ण होइन ।”





