भरतपुर, ४ मंसिर ।
आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो ।
बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए । सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ ।
यो मत आयोगले अपेक्षा गरेको भन्दा पनि कम भएको आयुक्त थपलियाले बताए ।
देशभरि कुल मतदाता १ करोड ७८ लाख ८८ हजार ५७० रहेका थिए । विवरणहरू आउने क्रम जारी रहेको र बढ्न सक्ने आयोगको अनुमान छ । यद्यपि अनुमानभन्दा कम मत खसेको प्रमुख आयुक्त थपलियाले बताए ।
अघिल्लो (२०७४) संसदीय निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मत खसेको थियो । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो । यसअघि वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा ६४ प्रतिशत मत खसेको थियो । यसअघि पहिलो संविधानसभा निर्वाचनमा पनि करिब–करिब ६१ प्रतिशत बढी अनुपातमा मत खसेको पाइएको छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ७८ दशमलव ३४ प्रतिशत मत खसेको थियो ।





