भरतपुर, ४ मंसिर ।
जिल्ला कारागार कार्यालय भरतपुरका कैदीवन्दीले मतदान गरेका छन् । आज बिहान ७ बजेयता कारागारको मुख्य गेटभित्र रहनेगरी बन्दीगृह अगाडि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
कारगारमा १०१ जना मतदाता रहेका छन् । जसमध्ये ४ जना महिला र ९७ जना पुरुष मतदाता रहेका छन् । कारागारका जेलर एवम् मतदान अधिकृत कमलप्रसाद आर्चायका अनुसार ९ बजेसम्म ७५ प्रतिशत मतदान सम्पन्न भएको छ । उनीहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने मतदान अधिकृत आचार्यले बताए ।





