निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ : गृह मन्त्रालय

काठमाडौं, २ मङ्सिर ।
सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ । शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याइने बताए । उनले मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पारे । उनले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिकालगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताए । त्यस प्रकारका गतिविधिलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उनको भनाइ छ ।

‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्नेसँग एग्रेसिभ रुपमा हामी थिएनौँ । तर केही दिन यता केही हिंसात्मक विषय देखिने सम्भावना देखिएको छ । त्यसैले अहिले एक किसिमले जिरो टोलेरेन्समा हामी छौँ । त्यस्ता खालका गतिविधि र क्रियाकलाप गर्ने समूह, व्यक्ति, संगठनलाई कानुनी दायरामा ल्याउने गरिरहेका छौँ’, उनले भने ।

गृहसचिव सिंहले मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराए । निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्नेगरी काम गर्ने कर्मचारीलाई कारबाही गरिने उनले स्पष्ट पारे । उनले कर्मचारीलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुनेगरी क्रियाकलाप नगर्न निर्देशन दिए ।

उनले भने, ‘मतदानस्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी सम्पूर्णलाई स्पष्ट निर्देशन छ, हाम्रो दायित्त्व भनेको निष्पक्ष, भयरहित र शान्तिपूर्ण। निष्पक्षता भनेको सबैभन्दा पहिला हामीबाटै हुन्छ । त्यसमा म पूर्ण रुपमा विश्वस्त छु र विश्वास दिलाउन चाहन्छु त्यसमा हामी प्रतिबद्ध छौँ ।´

आचारसंहिता, निर्वाचन कानुनको उल्लंघन गर्नेलाई तदनुरुप कारबाही हुने उनको भनाइ छ । निजामती कर्मचारी र अन्य कर्मचारीको हकमा विभागीय कारबाही र संगठनको नियम अनुसार कारबाही हुने उनले प्रष्ट पारे ।

गृहसचिव सिंहले मतपेटिकालाई मत गणनास्थलसम्म ल्याउनका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगरिने स्पष्ट पारे । सवारी साधनको अभाव रहेका विकट ठाउँमा भने मतदान अधिकृतले माग गरे अनुरुप सशस्त्र प्रहरीको सवारी साधन प्रयोग गर्न सकिने उनको भनाइ छ । सुरक्षा निकायको सवारी साधनमा सिल गरिएका मतपेटिका नबोकिने सिंहले प्रष्ट पारे ।

हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरेर तीन लाख सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए ।

त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको छ । सो टोलीले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहिता उल्लंघनका विषयको अनुगमन गर्ने जनाइएको छ ।

उनकाअनुसार नेपाली सेनाका हेलिकप्टर इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा तैनाथ गरिएको छ । नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटमा पुग्नेगरी नेपाली सेनालाई परिचालन गरिएको गृहसचिव सिंहले जानकारी दिए । त्यस्तै देशभरका ९०३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाइएको उनले बताए ।

पत्रकार सम्मेलन गर्नुअघि गृह मन्त्रालयमा गृह सचिवसहित सबै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट