भरतपुर, २ मंसिर ।
नेपालले यूएईलाई तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६ विकेटले पराजित गर्दै शृंखला जितेको छ । ३ खेलको एकदिवसीय शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको हो । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले आफ्नो भूमिमा पहिलो पटक कुनै एकदिवसीय शृंखला जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा पूरा गर्यो । ओपनर अर्जुन साउद ९ रनमा आउट भएपछि शेख र मल्लले दोस्रो विकेटका लागि १२२ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यान जोडीले बनाएको यो दोस्रो ठूलो साझेदारी हो । गत मार्चमा पपुवा न्यु गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रन जोडेका थिए ।
शुक्रबार ज्ञानेन्द्र आफ्नो उच्चतम स्कोर ६३ रन बनाएर आउट भए । आयन खानको बलमा एलबीडब्लु आउट हुनुअघि उनले ७३ बलमा ७ चौका र ३ छक्का जोडेका थिए । आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पाँचौं अर्धशतक बनाउने क्रममा ८८ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १७६ रन मात्र बनाउन सक्यो ।
आयन खान र हजरत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि यूएई सम्हालिएको थियो । आयनले ६३ बलमा अविजित ५४ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । बिलालले ५४ बलमा नट आउट २० रन बनाए । युएईका एलिसन सराफुले ३३ र रोहन मुस्ताफाले २४ रन बनाए ।
नेपालबाट गुलशन, दीपेन्द्र र कुशलले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरको स्पेलमा ३ मेडन राख्दै २२ रन खर्चिए । ललित राजवंशीले १ विकेट लिए । तेस्रो एकदिवसीयमा आसिफ शेख प्लेयर अफ दि म्याच भए भने युएईका आयन खान म्यान अफ दि म्याच घोषित भए ।
यूएईले पहिलो खेलमा नेपाललाई सजिलै ८४ रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेल ३ विकेटले जित्दै शृंखला बराबरीमा ल्याएको थियो । नेपालले यूएईसँगको शृंखला लगातार दोस्रो पटक जितेको हो । २०१९ मा पनि नेपालले उसलाई दुबईमा तीन खेलको शृंखलामा २–१ ले पराजित गरेको थियो । नेपाली भूमिमा गत मार्चमा आयोजित पीएनजीसँगको एकदिवसीय शृंखला नेपालले २-० ले गुमाएको थियो ।




