सुनाखरी एक प्रकारको फूल फुल्ने प्रजातिको वनस्पति हो । ओर्किडेसिआइ परिवार अन्तर्गत पर्ने यो वनस्पित विभिन्न स्थानमा उम्रने खालका हुन्छन् । सुनाखरीका प्रजातिहरू रुखका हाँगा वा बोक्रा, चट्टान, माटो र वनस्पति वा जन्तु कुहिएको स्थानमा हुर्केको पाइन्छ । पृथ्वीभर सुनाखरीका २० हजारदेखि ३० हजारसम्म प्रजाति पाइन्छन् । सुनाखरी फूलको आकार पनि प्रजाति अनुसार फरकफरक पाइने गरेको छ । कतिपय सुनाखरी फूलको दल (अंग्रेजीमा पेटल, फूलको रंगीन भाग)को व्यास २ मिलिमिटरसम्म मात्रै पनि हुन्छ भने कतिपय प्रजातिमा फूलको लम्बाइ १५ इन्चसम्म पनि हुने गरेको छ ।

अंग्रेजीमा अर्किड भनिने यस प्रजातिलाई नेपालीमा सुनगाभाको नामले पनि चिनिन्छ । नेपालमा सुनाखरी तराईदेखि ४ हजार मिटर उचाइ भएका क्षेत्रसम्म पाइन्छन् । नेपालमा सुनाखरीका अधिकांश प्रजाति वैशाख–जेठ महिनामा फुल्छन् भने कतिपय प्रजाति कात्तिक महिनामा पनि फुलेको भेट्न सकिन्छ । नेपालमा ३०० भन्दा बढी प्रजातिका सुनाखरी पाइने भनिएपनि तथ्यांकमा भेटिने तिनको संख्यामा भने एकरूपता पाइँदैन । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागले वि.सं २०७५ मा प्रकाशन गरेको साइटिस सूचीमा परेका नेपालका व्यापारिक महत्त्व भएका वनस्पतिहरू नामक पुस्तिकमा नेपालमा ४५१ प्रजातिका सुनाखरी पाइने उल्लेख छ । सन् २०१३ मा मान बहादुर रोका सम्मिलित टोलीले तयार पारेको नेपालमा पाइने अर्किड फूलको एनोटेट चेकलिष्टमा नेपालमा ४३७ प्रजातिका सुनाखरी पाइने बताइएको छ । तीमध्ये १८ वटा प्रजाति नेपालमा मात्र पाइने खालका सुनाखरी हुन् ।
सुनाखरीको महत्त्व
सुनाखरीको प्रजाति अनुसार त्यसका जरा, काण्ठ (डाँठ) र गानोमा औषधीय गुण रहेको हुन्छ भने फूललाई सजावटका लागि प्रयोग गरिन्छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक व्यापार गरिने फुल्ने फूलहरूमध्ये अर्किड अर्थात् सुनाखरी प्रजाति पनि एक हो ।

सिलोगाइन (चाँदीगाभा/वनकेरा), डेन्ड्रोबियम (थुर/जीवन्ती), सिमबिडियम, बल्बोफाइलम, हाबेनारिया, मलाक्सिस.र फोलिडोटा जाति अन्तर्गत पर्ने सुनाखरीलाई औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ । त्यस्तै, आयुर्वेद चिकित्सामा उल्लेख गरिएको अष्टवर्ग वनस्पति (आठ वटा वनस्पतिको समूह) मध्ये चार वटा प्रजाति ओर्किडेसिआइ परिवारका हुन् । त्यस कारण पनि सुनाखरी उच्च मात्रामा व्यापार हुने गरेको छ । सुनाखरीलाई मुख्यतः ट्युबरक्लोसिस (क्षयरोग), प्यारालाइसिस (पक्षघात), जन्डिस (कमलपित्त), कोरेला (हैजा), पायल्स (हर्षा), आदि रोगको उपचारका लागि लाभदायक मानिन्छ । त्यस्तै पेटसम्बन्धी समस्या, छातीको दुखाइ लगायत अन्य समस्या निको पार्न पनि सुनाखरीको प्रयोग हुने गरेको छ ।

यस्तै कतिपय प्रजातिका सुनाखरीलाई प्रशोधन गरी निकालिएको रसायनमा क्यान्सर प्रतिरोधी गुण हुने गरेको पनि पत्ता लागेको छ । भेनिला प्लानिफोलिया प्रजातिको सुनाखरीबाट भेनिला नामक स्वाद प्रदान गर्ने यौगिक (फ्लेबरिङ एजेन्ट) निकालिन्छ । सजावटको दृष्टिले समेत सुनाखरी प्रजातिको महत्त्व भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग अत्यधिक हुने गरेको छ । ब्राजिलियन क्याटलिया, मेक्सिकन लोलिया तथा इण्डियन क्याम्बिडियम, भान्दा र डेन्ड्रबियम प्रजातिका सुनाखरीले हाइब्रिड प्रजातिको विकासमा पनि भूमिका खेलेका छन् । त्यस्ता हाइब्रिड प्रजातिका सुनाखरीलाई प्रशोधन गरी निकालिने धुलो, रस तथा लेपलाई गहुँको पिठो, दूध वा महसँग मिलाएर पनि सेवन गर्ने गरिन्छ । नेपालमा पाइने सुनाखरीको विश्वबजारमा समेत निर्यात हुन्छ । तर अवैध चोरीपैठारी तथा तस्कारीका कारण ती प्रजाति संकटमा पुग्न लागेका छन् । यसरी सुनाखरीका प्रजाति लोप भएर जाने जोखिम पनि बढेको छ ।
संरक्षणको अवस्था र चुनौती
साईटिस महासन्धि (दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि) ले विभिन्न वन्यजन्तु तथा वनस्पतिहरूलाई संरक्षणको आधारमा ३ वटा अनुसूचीमा वर्गीकरण गरेको छ । साईटिसको अनुसूची १ मा लोप हुने स्थितिमा पुगेका प्रजातिहरू समावेश गरिएका छन् । त्यस्ता प्रजातिहरूको व्यापारमा पूर्णतया रोक लगाइएको छ । यद्यपि गैर व्यवसायिक प्रयोजन जस्तै अनुसन्धान, शैक्षिक प्रदर्शनी वा चिडियाखानामा राख्नका लागि भने यस अनुसूचीमा रहेका प्रजातिको ओसारपसार गर्न पाइन्छ । यस अनुसूचीमा नेपालका सुनाखरीका दुई प्रजातिहरू पर्दछन् । ती पेफियोपेडिलम इन्सिग्ने र पेफियोपेडिलम भेनुस्टम हुन् । आइयुसिएनको रेड लिस्टमा यी दुई प्रजाति संकटापन्न शीर्षकभित्र पर्दछन् ।
यस्तै, लोप हुने अवस्थामा नपुगेका तर तिनको व्यापारलाई नियमन तथा नियन्त्रण नगर्दा निकट भविष्यमा लोप हुने खतरामा रहेका प्रजातिलाई साईटिसको अनुसूची २ मा राखिएको छ । यस्ता प्रजातिको निकासी गर्न व्यवस्थापन निकायवाट निकासी इजाजत पत्र लिनुपर्ने प्रावधान छ । अनुसूची १ मा रहेका दुई वटा प्रजाति बाहेक नेपालमा पाइने अन्य सबै सुनाखरी अनुसूची २ मा पर्दछन् । अनुसूची ३ मा ती प्रजाति राखिन्छन् जसलाई पक्ष राष्ट्रले नियमन एवं नियन्त्रण गर्ने आवश्यकता महसूस गरेको हुन्छ । नेपालमा पाइने सुनाखरीका प्रजातिहरू यस अनुसूचीमा छैनन् ।

नेपालका वनजंगलमा पाइने सुनाखरीका प्रजातिको चोरीपैठारी अत्यधिक मात्रामा हुने गरेको छ । यहाँका सुनाखरी खास गरी भारत र चीनसँगै हङकङमा पनि निर्यात हुने गरेको छ । सन् २००८–०९ मा गरिएको एक अध्ययनले काठमाडौँको दक्षिणकाली क्षेत्रबाट त्यस अवधिमा मात्रै ९.४ टन जंगली सुनाखरीको व्यापार भएको देखाएको थियो । अध्ययनपछि आविष्कार सुवेदी, योंग चोइ, लगायतको दलले तयार पारेको “नेपालमा जंगली सुनाखरीको सङ्कलन र व्यापार” नामक जर्नलमा त्यस समय प्रति केजी डेन्ड्रोबियम इरीफ्लोरम (थुर्जाे) प्रजातिको अन्तर्राष्ट्रिय बजार मूल्य १० हजार हङकङ डलर (करिब १ हजार ३ सय अमेरिकी डलर) रहेको उल्लेख छ । नेपालमा फुल्ने जंगली सुनाखरीको नेपाली बजारमा भन्दा विदेशी बजारमा उच्च मूल्य हुने भएकाले पनि त्यसको अवैध निकासी हुने गरेको छ ।
सुनाखरीको संरक्षणका विभिन्न उपायमध्ये टिस्यु कल्चर पनि हो । टिस्यु कल्चरको सहायताले प्रयोगशालामा कृत्रिम रूपमा सुनाखरीका बिरुवा उमार्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागकी प्रा.डा. विजया पन्त त्यसरी उमारिएका बेर्नालाई कृषक वा अन्य व्यक्तिले व्यावसायिक खेती गर्न सके राष्ट्रिय अर्थतन्त्रमै योगदान पुग्ने मत राख्नुहुन्छ । प्रयोगशालामा तयारी पारिने न्युट्रियन्ट मिडियालाई सिसाको भाँडोमा हालिन्छ । न्युट्रियन्ट मिडिया भनेको सुनाखरीलाई आवश्यक पर्ने पौष्टिक खानेकुरा हो । सुनाखरीको प्रजातिका अनुसार न्युट्रियन्ट मिडिया फरकफरक हुन्छन् । एउटा सिसाको भाँडोमा बिरुवाहरू उम्रन थालेपछि बिरुवालाई अर्काे भाँडोमा सारिन्छ । यसरी कुनै एउटा प्रजातिको सुनाखरीको तन्तुबाट धेरै बिरुवाका बेर्ना उमार्न सकिन्छ ।

सुनाखरी सम्बन्धी कानून
सुनाखरी संकलन तथा खेती विकास (कार्यविधि) निर्देशिका, २०६९ को दफा (१) उपदफा (१) मा उद्योग वा सुनाखरी संकलन एवं प्रशोधन गर्ने निकाय वा व्यक्तिले सुनाखरीको व्यवसायिक खेती गर्न सक्ने भनिएको छ । सोही दफाको उपदफा (८) मा सुनाखरीलाई प्रशोधन गरेर मात्रै निकासी गर्न पाउने व्यवस्था छ ।
वन नियमावली, २०५१ को अनुसूची–३ को खण्ड (च) को नं. ७ बमोजिम नेपालको कुनै वन क्षेत्रबाट संकलन गरेको सुनाखरी/सुनगाभा/जिवन्ती/गामडोल (पाँच औँले बाहेक) को लागि प्रति के.जी. दुई सय रुपैयाँ र पाँच औँलेको प्रति गोटा एक हजार रुपैयाँ दस्तुर बुझाउनु पर्ने व्यवस्था छ । तर नेपालमा पाँच औँले संकलन, उपयोग, बिक्री वितरण तथा ओसारपसार र विदेश निकासी गर्न प्रतिबन्धित छ ।






