भरतपुर, २४ भदौ ।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न स्रस्टाहरूलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला-संस्कृति, पत्रकारिता गीतसंगीतलगायतका विभिन्न बिधामा साधनारत स्रस्टालाई सम्मान गर्न लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
सम्मानित हुन लागेका स्रस्टाहरूमा पत्रकार एवम् लेखक विनोदबाबु रिजाल पनि रहेका छन् । रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् । रिजालको हालै एकान्तवास पुस्तक प्रकाशनमा आएको छ । रिजाललाई हाम्रो मझेरी युवा पत्रकारिता सम्मान-२०७९ बाट सम्मान गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
सम्मानित हुने अन्य स्रस्टाहरूमा चितवनबाट उदय अधिकारी र विनोद अनुज, रामलाल जोशी कैलाली, विशाल ढकाल नवलपरासी, केशव आचार्य झापा, सुमन घिमिरे सर्लाही, सुशीला पौडेल काठमाडौं, विश्वप्रेम अधिकारी स्याङ्जा, सावित्री गिरी कास्की र माधव पोखरेल मकवानपुर रहेका छन् ।
त्यस्तै गान्तोक सिक्किमकी सीता शर्मा र दार्जिलिङकी सरस्वती शर्मा क्षेत्रीलाई पनि सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले बताए । कार्यक्रम असोज १० गते घटस्थापनाका दिन भरतपुरमा हुनेछ ।




