भरतपुर, २३ भदौ ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो निधन भएको हो । उनले सात दशकभन्दा लामो समय शासन गरिसकेकी थिइन् ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४औं पछि दोस्रो स्थानमा पर्छिन् । बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।





