रत्ननगर, १८ असार ।
रत्ननगर- १२ सालघारीस्थित पन्चदीप आधारभूत विद्यालयका विपन्न समुदायका विद्यार्थीहरुलाई शुक्रबार पोसाक वितरण गरिएको छ ।
लायन्स क्लब अफ चितवन सौराहाले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर अन्तर्गत लायन्स वर्ष २०२२/२३ को पहिलो दिन सो विद्यालयका २५० जना विद्यार्थीहरुको लागि पोशाक वितरण गरेको हो । नेपाल लायन्स फाउण्डेशनको ५० हजार र क्लबका सदस्यहरूको २० हजार सहयोग गरि कुल रकम रु ७० हजार बराबरको पोशाक सहयोग गरिएको लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
आर्थिक अभावका कारण सो विद्यालयका अध्यायनरत विद्यार्थीहरुलाई पोसाक खरिद गर्न समस्या भएको भन्ने जानकारीमा आएपछि आफ्नो कार्यकालको पहिलो कार्यक्रमका रुपमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गरिएको अध्यक्ष घिमिरेले बताए ।
लायन्स डिष्ट्रिक्ट ३२५ आरका द्वितीय भाइस गर्भनर दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडाध्यक्ष सुन्दरमणि सुवेदी, लायन्सका अगुवाहरु नारायणप्रसाद शर्मा, दीपेन्द्र खतिवडा, योगेश अधिकारी, सुरेशचन्द्र आचार्य, कृष्णलाल श्रेष्ठ, ओमलाल सापकोटालगायतको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव रञ्जन भण्डारीले सहजीकरण गरेका थिए ।




