भरतपुर, १३ असार ।
मोटरसाइकल दुर्घटनामा परेर दुवै हर नचल्ने भई भरतपुरस्थित एक रिह्याब सेन्टरमा उपचाररत कावासोतीका १८ वर्षीय अभि तिवारीको परिवारलाई नवलपुर समाज जापानले सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
समाजका अध्यक्ष कृष्ण खरेल, उपाध्यक्ष विष्णु शर्मा, संस्थापक अध्यक्ष केशवप्रसाद पौडेललगायत २३ जनाबाट संकलित ८२ हजार रुपैयाँ अभि तिवारीकी आमा मीना तिवारीलाई हस्तान्तरण गरिएको हो ।
कावासोती नगरपालिका–४, हसौराका तिवारीले गत मंसिर ३ गते मोटरसाइकल चलाइरहेको अवस्थामा ट्याक्टरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका हुन् । दुर्घटनापछि उनको उपचार भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा भएको थियो । दुवै हर नचल्ने भएका उनको थप उपचार एक महिनायता चितवन फिजियोथेरापी एण्ड रिह्याबिलेसन सेन्टरमा भइरहेको छ ।
छोराको उपचारमा ४० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको अभिकी आमा मीना तिवारीले बताइन् । उनका अनुसार ठक्कर दिने ट्याक्टरधनीले १२ लाख रुपैयाँ उपचार खर्च दिएका छन् । गरिबीको कारण थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै मीनाले सहयोगको लागि अनुरोध गरेकी छिन् ।
आर्थिक सहयोग गर्न चाहनेले उनको मोबाइल नम्बर ९८४९३५५४४३ मा सम्पर्क गर्न सकिने छ ।





