गैंडाकोट, १३ असार ।
गैंडाकोट नगरपालिका- ५ बैकुण्ठ नगर टोल विकास संस्थामार्फत खोलिएको सुनौलो कृषि महिला समूहले टोलमा रहेका खाली जग्गामा बेसार खेती गरेका छन् ।
थोरै मिहेनतमा बाँझो जग्गामा बेसार खेती गरी सदुपयोग गर्न सकिने भएपछि कृषक महिलाहरु बेसार खेतीमा यसरी जुटेका छन् । गत वर्ष देखिनै यसरी बेसार खेति शुरु गरेका उनीहरुले पहिलो वर्ष लगभग २ कठ्ठा जग्गा भाडामा लिएर गरिएको बेसार खेतीबाट ३५० किलो बेसार उत्पादन गर्न सफल भएका थिए ।
बेसार बिहान बेलुकी नेपालीको भान्सामा अत्यावश्यक बस्तु भएकाले आफैंले उत्पादन गरेको अर्गानिक बेसार आफैले समेत उपभोग गर्दै बाँकी रहेको बेसार समूहका अन्य सदस्य र टोलभर बिक्री गर्ने गरेका छन । “आम्दानी राम्रो, खेती गर्न सजिलो आफ्नो फुर्सदमा काम गर्न सकिने धेरै उत्पादन भए बजारको समस्यासमेत नभएकाले यो खेती सुरुवात गरिएको समूहकी अध्यक्ष मिरा केसीले बताएकी छन् ।
समूहमा १३/१४ जना २५ देखि ५० वर्ष उमेर समूहका महिलाहरु आवद्ध छन् । “नगरपालिका र स्थानीय सरोकार वाला संघ सस्थाले यो समूहलाई कृषि तालिमको व्यवस्था गर्दिएमा नयाँ प्राविधिक र नयाँ सीप हासिल गर्न केही सहज हुने समूहकी सचिव नरमाया थापाले बताइन् ।





