भरतपुर, ९ असार।
भरतपुरमा धुम्रपान तथा सुर्तिजन्य पर्दाथको प्रभाव र नियन्त्रणसम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका समन्वयमा हेल्थ टुडेले बिहीबार स्वास्थ्य कार्यालय चितवनमा आयोजनामा गरेको अन्तक्रिया कार्यक्रममा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेको ऐन, नियमावली र निर्देशिकाका कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
हेल्थ टुडेका अध्यक्ष पदमराज जोशीले नसर्ने रोग अधिकांश सुर्तिजन्य पर्दाथको कारणले लाग्ने भएकाले यसको न्युनीकरण तर्फ ध्यान दिने बेला आएको बताए । उनले ऐन कानुनको परिपालनाका लागि सरोकारवाला निकायले अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
ऐनमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पर्दाथको सेवन गर्न निषेध गरेपनि नियमनको अभाव रहेको बताए । उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने असर बारे सरोकारहरुले जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औलयाए । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट विश्वभर ८० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा पनि वर्षेनी २७ हजार १३७ जनाको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको पत्रकार जोशीले बताए ।
पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकालले कुनै दिवस विशेषको अवसर पारेर मात्रै नभइ निरन्तर सञ्चारमाध्यमले सुर्तिजन्य पर्दाथको प्रभाव र यसको न्युनीकरणको बारेमा खबरदारी गरिरहनुपर्नेमा जोड दिइन ।
स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले पनि सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेको ऐन कार्यन्वयन फितलो भएको बताए । यस्तै उनले जनसमुदायका अझै सचेतनामुलक कार्यक्रम आवश्यक रहेको औंल्याए । सरकारले बर्षेनी कर बढाउँदा पनि प्रयोगकर्ताको संख्या नघटेको उनको भनाइ थियो ।





