देवचुली, ९ असार ।
देवचुली नगरपालिका-७ मा रहेको सीताराम महिला सामुदायिक वन उपभोक्ता समूहलाई ५०० बिरुवा हस्तान्तरण गरिएको छ ।हस्तान्तरणसँगै सीताराम महिला सामुदायिक वनमा वृक्षारोपणको सुरुवात समेत गरिएको हो ।
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको समन्वयमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरबाट नि:शुल्क प्राप्त विभिन्न जातका बोटबिरुवा लगाइएको हो ।राई खनियो, काफल, मेन्दोला, इन्दु र भटमासे जातका ५०० वटा बिरुवा हस्तान्तरण गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले सीताराम महिला सामुदायिक वन उपभोक्ता समितिलाई बिरुवा हस्तान्तरण गर्दै बिरुवा रोपी वृक्षारोपणको शुभारम्भ गरेका थिए । वनलाई हरियाली बनाउनुका साथै वनको संरक्षणमा सबै लाग्नुपर्छ भन्ने सन्देश दिनका लागि वृक्षारोपण गरिएको हो ।
सीताराम महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता न्यौपानेको अध्यक्षता भएको बिरुवा हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि सीता भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरु, सीताराम महिला सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।





