भरतपुर, ३० चैत ।
पत्रकार तथा कथाकार वसन्त पराजुलीले आफ्नो जन्मदिनमा चेपाङ समुदायका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएका छन् ।
चैत ३० गते बुधबार जन्मदिन परेका पराजुलीले रत्ननगरस्थित गामबेशी चेपाङ छात्रावासमा रहेका विद्यार्थीलाई कापी, कलमसहित बालपत्रिका मुना उपलब्ध गराएका हुन् । गोरखापत्र दैनिकका पत्रकार पराजुलीलाई अघिल्लो साता मात्रै नेपाल ह्याचरी संघ बागमती प्रदेश समितिले सम्मान गरेको थियो । सम्मानस्वरुप प्राप्त नगद ७ हजार ५०० रुपैयाँमा अरू रकम थपेर सोही रकमले कापी, कलमलगायतका शैक्षिक सामग्री छात्रावासलाई उपलब्ध गराएका हुन् ।
पराजुलीले कुमाता र मोम्चो गरि दुई वटा पुस्तक प्रकाशन गरेका छन् । दुबै कथासङ्ग्रहमा पराजुलीले चेपाङ समुदायको अवस्थालाई पनि चित्रण गरेका छन् । सीमान्तकृत समुदायको अवस्थालाई नजिकबाट नियालीरहेका पत्रकार पराजुलीले यहि समुदायलाई सहयोग गर्ने इच्छा अनुरुप जन्मदिनको अवसर पारेर सहयोग उपलब्ध गराएको बताए । `यी समुदायका बालबालिकालाई शिक्षा दिक्षाको अवसरबाट बन्चित गरिनु हुन्न´ पराजुलीले भने – `छात्रावासमा रहेका यी कलिला भाइबहिनीलाई लेख्न पढ्नमा सहजीकरण होस् भनेर सानो सहयोग गरेको हूँ ।´
गामबेशीको चेपाङ छात्रावासका सञ्चालक केपी किरण शर्माले छात्रावासका बाबुनानीलाई सम्झेर सहयोग उपलब्ध गराएकोमा पत्रकार पराजुलीलाई धन्यवाद दिए । छात्रावासमा चेपाङ समुदायका करिव १५० जना बालबालिका अध्ययनरत छन् ।





