श्रीलंकामा आपतकालीन अवस्था लागू भएको छ । राष्ट्रपति कार्यालय अगाडि भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि आपतकालीन अवस्था लागू गरिएको हो ।
कोलम्बोमा बिहीबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय अगाडि राखिएको ब्यारिकेट नाघेर आगजनी गरेका थिए । समाचार संस्था रोयटर्सका अनुसार भिडन्तको क्रममा कम्तीमा २४ जना प्रहरी घाइते भएका थिए ।
त्यसपछि सहरमा सेना परिचालन गरिएको छ । अहिले सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक संकटका कारण जनजीवन प्रभावित हुँदा स्थानीयहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।
विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन किन्न सकिरहेको छैन । अहिले श्रीलंकामा कम्तीमा १२ घण्टा विद्युत कटौती भइरहेको छ । यस्तै इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ । यसले सर्वसाधारणमा आक्रोश बढेका बेला सरकारले आपतकालीन अवस्था लागू गरेको हो ।