गैंडाकोट स्वाभिमान र संगम अविरत एकीकरण भै गण्डकी सहकारीको कारोबार सुरु

गैंडाकोट, १९ माघ ।
नवलपरासीपूर्वको गैंडाकोटलाई कार्यक्षेत्र बनाएर वित्तीय कारोबार गर्दै आइरहेका दुई वटा सहकारी संस्थाबीच एकीकरण भएको छ ।

गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था र संगम अविरत बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो । एकीकरण पश्चात बनेको गण्डकी बचत तथा ऋण सहकारी संस्थाले बुधबार संयुक्त साधारणसभा तथा एकीकरण घोषणासभा गरेको छ । संस्थाले १७ सदस्यीय सञ्चालक समिति तथा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति समेत गठन गरेको छ ।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करिब १६ हजार सदस्य रहेको अध्यक्ष पोषणराज सुवेदीले जानकारी दिए । सहकारीले वित्तीय तथा गैरबित्तीय कारोबार गर्दै आएको उल्लेख गर्दै सुवेदीले वित्तीयतर्फ ऋण लगानी गर्दै सदस्यहरुको उद्यमशीलता वृद्धिको काम गर्दै आएको बताए ।

त्यस्तै गैर वित्तीयतर्फ रक्तदान, सहकारी, शिक्षासहितका विभिन्न चेतनामूलक काम गर्दै आएको सुवेदीले बताए । एकीकरणपश्चात बनेको गण्डकी बचत तथा ऋण सहकारी संस्था गैंडाकोटको तेस्रो ठूलो सहकारी भएको समेत सुवेदीले जानकारी दिए । सहकारीको झण्डै पौने दुई अर्ब रुपैयाँ पुँजी रहेको सुवेदीको भनाइ छ । कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले विचार, उद्देश्य र कारोवारको प्रकृति एउटै भएका संस्थाहरु वीच नेपाल सरकारको नीति अनुसार गैंडाकोट स्वाभिमान र संगम अविरत बीच एकीकरण भएकोमा बधाई दिए ।
`अब यो संस्थाका माध्यमबाट स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता मिल्नेछ´, नगर प्रमुख पौडेलले भने – `आगामी दिनहरुमा नगरको आर्थिक विकासका निम्ति गण्डकी साकोससँग सहकार्य गर्न तयार छौँ ।´ पौडेलले यो संस्था गण्डकी प्रदेशमा मात्र सिमित नभएर अविरल नारायणी झैं निरन्तर अघि बढिरहने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाको सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले सहकारीहरु विधि र प्रविधिअनुसार चलेमा उत्कृष्ट मात्रै नभएर सर्वोत्कृष्ट हुँदै जाने बताए । विधिअनुसार चलेका सहकारीहरुको विकासका लागि नगरपालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने गौतमको भनाइ थियो ।

कार्यक्रममा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक गोविन्द सुवेदीले संस्थाको वासलात तथा उपाध्यक्ष केदार न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट