मानवीय संवेदना नगुमाऔँ

भरतपुर–१०, एयरपोर्टचोकमा घर भएकी ६१ वर्षीया डिलादेवी रिजाल घरबारविहीन हुँदैछिन् । निर्माणाधीन पुल्चोक–गोन्द्राङ सडकखण्ड ६ लेनको बनाइने भएपछि रिजाल घरबारविहीन हुन लागेकी हुन् । उनी बस्दै आएको घर पाँच दशकभन्दा पुरानो हो । महेन्द्र राजमार्ग नबन्दै रिजाल परिवार अहिलेकै ठाउँमा आएर घर बनाई बसेको थियो ।

भरतपुर–१० विमानस्थल अगाडिको सडक छेउको टहरोमा डिलादेवी रिजाल टोलाइरहन्छिन् । निर्माणाधीन पुल्चोक–गोन्द्राङ सडकमा चल्ने डोजरको आवाजले घरिघरि झस्किन्छिन् उनी । आफू बस्दै आएको टहरो आजभोलि नै भत्काइदिने हुन् कि भन्ने पिरलो छ उनलाई । श्रीमान् बिते । छोराछोरी छैनन् । सम्पतिको नाममा सडक छेउमा रहेको साँघुरो टहरो पनि फराकिलो सडकका लागि भत्काइने छ ।

तीन धुरमा रहेको टहरोमा डिलादेवी एक्लै बस्छिन् । क्यान्सर रोगसँग लडेर बाँचिरहेकी उनी ‘भएको यही टहरो हो, म कहाँ जानु ?’ भनेर टहरोमा बस्दै आएकी छिन् । सरकारी मान्छे आएर कहिले उनको टहरोमाथि डोजर चलाइदिने हुन् ? कुनै टुंगो छैन । ढिलोचाँडो टहरो भत्काइनेछ भन्ने रिजाललाई पनि लागेको छ । टहरोमा सानो पसल गरेर जीविका चलाइरहेकी रिजाललाई यहाँबाट कहाँ जाने ? कहाँ बस्ने ? के खाने ? कसरी गुजारा गर्ने ? भन्ने चिन्ता छ ।

डिलादेवी स्थानीय सरकारबाट आफ्नो बास र जीविकाको लागि उचित व्यवस्था गरियोस् भन्ने चाहन्छिन् । कसले सुन्ने उनको पुकारा ? मेयर र उपमेयर दुवै महिला भएको भरतपुृर महानगरवासी एकल महिलामाथि मानवीय संवेदनाका हिसाबले पनि गास, बासको व्यवस्था हुनै पर्ने देखिन्छ ।
स्तन क्यान्सरबाट पीडित डिलादेवीको ८ वर्षअघि शल्यक्रिया गरिएको थियो । उनी अहिले पनि प्रत्येक महिना चेकअप र औषधी उपचारका लागि क्यान्सर अस्पताल जानुपर्छ । महिनाको ७ देखि ८ हजार खर्च लाग्ने डिलादेवी बताउँछिन् । यही खर्च पनि कहिले छरछिमेक त कहिले चिनेका आफन्तहरुबाट सहयोग मागेर जुटाउँछिन् उनी । सहयोग नजुट्दा कहिलेकाहीँ आफ्नै सानो किराना पसलको आम्दानीबाट खर्च चलाउँछिन् । न समाउने हाँगो, न टेक्ने डाली भने झैँ छ डिलादेवीको जीवन । महानगरवासी एक असहाय महिलाको यो दुर्दशामाथि मेयर र उपमेयरले आँखा चिम्लन मिल्छ ? मानवीय संवेदनाका हिसाबले पक्कै मिल्दैन ।

डिलादेवीमाथि कानुनको डण्डा चलाउने होइन, मानवीय संवेदना देखाएर सहयोग गर्नु नै महानगरपालिकाको दायित्व हो । धनीका लागि सडक फराकिलो पार्ने महानगरले बिनाविकल्प गरिबको उठीबास लगाउनु अन्याय नै हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट