गैंडाकोट, १९ माघ ।
गैँडाकोटमा रहेको मातृभूमि टोल विकास संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेल सापकोटाले संस्थाको प्रगतिको कामना गर्दै नगरपालिकाको तर्फबाट सहयोग गर्ने वचनबद्धता प्रकट गरिन् ।
`स्थानीय शासन सरकार सञ्चालन ऐनमा भएको वैधानिक व्यवस्था अनुसार टोल विकास संस्थाहरू गठन भएकोले स्थानीय सरकारको मेरुदण्डका रूपमा टोल विकास संस्थाहरू रहेका छन्´ उपप्रमुख कँडेलले भनिन् ।
कार्यक्रममा कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, भीमबहादुर कुमाल, वडा नम्बर ५ का वडासदस्य हरिप्रसाद ढकाल, टोल विकास संस्था सन्जालका अध्यक्ष पशुपति रिजाल, सल्लाहकार एवम पूर्वअध्यक्ष एकनाथ रिजाल, सल्लाहकार गोविन्द रिमाल, मातृभूमि महिला कृषि समूहका अध्यक्ष तारादेवी काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र अनुमानित कार्यक्रम संस्थाका सचिव मुकुन्द उपाध्यायले प्रस्तुत गरे भने कोषाध्यक्षको तर्फबाट आर्थिक प्रतिवेदन विन्दु लामिछानेले प्रस्तुत गरिन् ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सहसचिव कृष्ण काफ्लेले राखेका थिए । टोलभित्र गैंडाकोट वडा नम्बर ५ का ८५ घरपरिवार रहेका छन् ।





