नवलपरासी, १९ माघ ।
पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन ।
भारतीय गण्डक पश्चिमनहर सडकको पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १८ प ८६०५ नेपाली नम्बरको स्कुटर र विपरीत दिशाबाट आएको यु पि ५६ ए एन ७२३५ भारतीय नम्बरको मोटरसाइकल सुस्ता गाउँपालिका वडा नम्बर २ हरखपुरा गाउँ नजिकै एक आपसमा ठक्कर खाँदा एक जना भारतीय नागरिक सहित ३ जना गम्भीर घाइते भएका थिए ।
घाइते हुनेहरु भारत महाराजगन्ज जिल्ला आनन्दनगर पिसन फरेन्दा बस्ने अन्दाजी वर्ष १९ का अरबिन्द चमार, बर्दघाट नगरपालिका वडा नम्बर १५ बस्ने वीरबहादुर तमाङ्गको वर्ष १८ को छोरा नीरबहादुर तमाङ्ग र सोही स्थान बस्ने शंकर सुनारको वर्ष १७ को छोरा अमृत सुनार रहेका छन् ।
३ जना घाइते मध्ये भारतीय नागरिकको मृत्यु भएको छ । घाइतेहरुको उपचारको लागि ईलाका प्रहरी कार्यालय बेलाटारीले सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएको थियो । घाइते मध्ये उपचारको क्रममा भारतीय नागरिक अरबिन्द चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार भारतीय नम्बरको मोटरसाइकलमा ३ जना सवार रहेकोे भारतीय नम्बरको मोटरसाइकल चालकको नै मृत्यु भएको बताएका छन् । त्यस्तै नेपाली नम्बरको स्कुटीमा २ जना सवार रहेको र उनीहरु गम्भीर घाइते भएकोले थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।





