राप्ती, १२ पुस ।
पूर्वी चितवनको राप्ती नगरपालिका ५ स्थित जेपी मार्गमा बस्ने सुनिता दरैलाई सहयोग रकम प्राप्त भएको छ । ३६ वर्षीय सुनिता विगत ६ महिना अगाडिबाट मृगौलाको समस्याले ग्रसित छिन् ।
उनलाई जनप्रतिनिधि खिलकान्त रुवाली र विश्वकुमार रुवालीले रकम संकलन गरेर सहयोग गरेका हुन् । सोमबार उनलाई एकानब्बे हजार तीनसय रुपैयाँ सहयोग गरिएको हो ।
राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मको वडाध्यक्ष तथा वडा परिवार र राप्ती उद्योग वाणिज्य संघलगायत संघसंस्थाबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।
केही समयअघि तिहारमा देउसी खेलेर र गाउँघरबाट संकलन गरेर उनलाई करिब बयालिस हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । त्यसैबाट प्रभावित भएर रकम संकलनमा आफूहरु लागि परेको जनप्रतिनिधि रुवालीले बताए ।
`देउसी खेलेर रकम संकलन गरियो भन्ने सुन्दा हामीले केही सहयोग गर्नुपर्छ भन्ने महसुस भयो, विश्वकुमार भाइ र म मिलेर हरेक वडामा उहाँको श्रीमानलाईसँगै लिएर गयौँ र उहाँहरुको दुखेसो पोख्ने काम गर्यौँ´, रुवालीले भने । अरुले पनि उनलाई सहयोग गर्नुपर्ने रुवालीले बताए ।
सुनिताको श्रीमान् पेशाले ड्राइभर हुन् । उनका दुई छोरा छन् । उनीहरू नजिकैको भण्डारा माविमा अध्ययनरत छन् । मृगौलामा समस्या आएपछि भरतपुर अस्पताल र काठमाडौँको शिक्षण अस्पतालमा उनले उपचार गराउँदै आएकी छन् ।





