विनोदबाबु रिजाल
भरतपुर, ७ असोज ।
उनी भरतपुर झर्नासाथ अलि लामै गफिन मन लागेर समय मागेको थिएँ । खै कसरी नमिलेको हो, एक महिना त्यस्सै बित्यो । उनी फर्किने दिन आउन २ दिन मात्रै बाँकी हुँदा हाम्रो भेट जु¥यो कायाकैरनमा । अहिले त उनी फेरि जापान फर्किसकेका छन् ।
“कस्तो हुँदै छ जापान बसाइँ ?”, अलि गफिने मुडमा मैले रेडिमेड प्रश्न तेस्र्याएँ । उनी अलि भावुक बने, “दुःख उही हो, यहाँ पनि गरेकै थिएँ, उता पनि गरेकै छु । पसिनाको स्वाद नुनिलो नै हुन्छ । तर, यत्ति फरक हो, यहाँ काम गर्दाको भन्दा उता गर्दाको आम्दानी अलि बढी छ ।”
दिनेशकुमार थपलिया । नामै काफी थियो (छ ।) २ वर्ष अघिसम्म सक्रिय पत्रकारितामा हुँदा उनको सान बेग्लै थियो । देशैभर चिनिएका ।
धेरै ठूलो सञ्जालमा काम गरेका । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन सबैखाले मिडियामा काम गरिसकेका । समाचार र मिडियाका सबै पाटोमा राम्रो दख्खल भएका । चितवनमा चलेको ‘क’ वर्गको कायाकैरन दैनिक समाचारपत्रको एक्लो मालिक, नारायणगढमा स्वस्तिक प्रेसको स्वामित्वकर्ता, रेडियो ध्रुवताराको नेतृत्वकर्ता । नपुग्दो के छ र ? बाहिरबाट उनलाई देख्ने, भेट्ने, चिन्नेका लागि उनको सरसर्ती परिचय ‘वाह !’ को थियो । “तर, म सधैं गाह्रो, अप्ठ्यारोमै रहें”, उनले भने, “भन्नेले मिडिया साहू भने । तर, एकजना विशुद्ध पत्रकारले नै चलाएको मिडियामा दुःख धेरै थियो भन्ने बाहिरबाट देख्नेलाई थाहा थिएन ।”

उनले चलाएको मिडिया जति राम्रो चलेको देखिन्थ्यो, उनलाई आर्थिक उपार्जन राम्रो थिएन । रातको दिन खटियो, तलब खुवाउनै मुस्किल पथ्र्यो । कयौंपटक उनले ऋण गरेर कामदारको तलब खुवाइरहे । “जसरी पनि कामदारको तलब त खुवाउनै प¥यो”, उनले सम्झिए, “ऋण लिएरै बाँडिदिन्थें ।”
उनीसँग एकघण्टा बस्दा धेरैकुरा फ्ल्यासब्याक भए । उनकाे स्मरणका केही तितामिठा क्षण उनकै शब्दमा :
पत्रकारिता आरम्भ
२०४९ सालतिर कृष्ण भण्डारी र वेदप्रसाद खरेल मिलेर नवसचेतक साप्ताहिक पत्रिका निकाल्नुभएको थियो । म एसएलसी सकेर बसेको थिएँ । त्यो पत्रिकामा मैले एउटा आर्टिकल लेखें । वेद दाइले बोलाएर ‘तिमीले त राम्रो लेख्दारहेछौ, केही समाचार पायौ भने लेख म छापिदिन्छु’ भन्नुभयो । मैले पनि त्यसै गर्न थालें । सुरुमा नाम नहालि हाम्रा समाचारदाताका अनुसार भनेर मैले लेखेको समाचार छापिन थाल्यो । त्यही अवधिमा त्यसबेलाका चर्चित पत्रकार महेन्द्र श्रेष्ठले अन्वेषण साप्ताहिक निकाल्नुहुन्थ्यो । यसको जिम्मा लिइदिनुप¥यो भन्नुभयो । जीवन काफ्ले र म मिलेर अन्वेषण निकाल्न थालियो । २०५२ सालमा चितवन महोत्सव थियो सायद । चितवन दैनिक नाम दिएर नयाँ पत्रिका सुरु गरियो । तर, दुर्भाग्य ८ अंक निकाल्दैमा खर्च धान्न नसकेर बन्द भयो । पत्रकारिताप्रतिको मेरो नसा भने बढ्दै थियो ।
राष्ट्रिय मिडियामा प्रवेश
चितवन दैनिक बन्द भएपछि के गर्ने, के गर्ने भइरहेको बेला पत्रकार देवप्रकाश त्रिपाठीसँग सम्पर्क भयो । उहाँले रेडियो कार्यक्रम ‘घटना र विचार’ सञ्चालन गर्नुहुन्थ्यो । त्यो कार्यक्रमको स्रोत देशभर ज्यादै थियो । उहाँले चितवनबाट समाचार पठाऊ भन्नुभयो । पठाएँ ।
नाम बज्न थालेपछि निकै हौसला मिल्यो । बाटोमा भेट्दा पनि तपाईं घटना र विचारमा नाम आउने पत्रकार होइन भनेर सोध्थे, साह्रै मज्जा आउँथ्यो । देवप्रकाश त्रिपाठी घटना र विचार रेडियो कार्यक्रमबाट निकालिएपछि मेरो पनि काम सकियो । उहाँले घटना र विचार नाम दिएरै साप्ताहिक पत्रिका सुरु गर्नुभयो । मैले पनि त्यसैमा चितवनको पहिलो रिपोर्टर भएर काम गर्ने मौका पाएँ ।
ठ्याक्कै मिति याद भएन, मनमोहन अधिकारी प्रधानमन्त्री र विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश भएको बेला संसद् विघटनसम्बन्धी मुद्दा थियो । फैसला हुने दिन सर्वोच्च अदालतभित्र सामान्य मान्छेलाई छिर्न दिइएको थिएन । घटना र विचारको कार्ड देखाएर म सजिलै छिरें । त्यसपछि लाग्यो, अहो ! पत्रकारको त यत्रो पावर हुँदोरहेछ । कसैलाई छिर्न नदिएको ठाउँमा मलाई दिदोंरहेछ ।
यसले झनै आकर्षण बढ्यो । त्यहीबेला तुलसी भट्टराई गोरखापत्रको अध्यक्ष हुनुहुन्थ्यो, यहीं चितवनका शिव अधिकारी सम्पादक । मलाई काम गर्ने एकमद रहर छ भनेपनि चितवन रिपोर्टर बनाइदिनुभयो । २०५३ को भदौमा घटना र विचारमा काम गर्न सुरु गरेको थिएँ । कात्तिक मंसिरमा त गोरखापत्रमै काम गर्न थालें । पैसा राम्रै कमाउन थालें ।
समाचार साटियो
अहिलेको पत्रकारले कमाउनेभन्दा राम्रो त्यतिबेलै कमाउन थालें । त्यतिबेलै चलेको हिमालय टाइम्सले पनि रिपोर्टर नपाएर मलाई नै चितवनबाट समाचार पठाउनुप¥यो भने त्यसबेलाका पत्रकार धर्मेन्द्र झा र देवेन्द्र भट्टराईले । दुवैतिर गरें । फ्याक्सबाट दुवै पत्रिकामा समाचार हाल्थें । एकदिन यस्तो संयोग परेछ कि झुक्किएर हिमालय टाइम्स संवाददाता लेखेर हालेको फ्याक्स गोरखापत्रमा र गोरखापत्र संवाददाता लेखेको फ्याक्स हिमालय टाइम्समा पुगेछ । समाचार संयोजक आनन्दराम आचार्यले सम्पर्क गरेर गाली गर्नुभयो । दुईमध्ये एकतिर काम गर भन्नुभयो । अनि हिमालय टाइम्स छोडें ।

राख्दै–निकाल्दै
गोरखापत्रमा राजनीतिक नियुक्ति हुन्थ्यो । सरकार फेरिएसँगै नियुक्ति सकिने र फेरि नवीकरण हुने क्रम चलिरहन्थ्यो । अहिले पनि त्यस्तै छ । अनुकूल पर्दा काममा आउनू भन्ने पत्र आउँथ्यो । प्रतिकूल पर्दा हाललाई काममा लगाउन नसकिने भएको छ भन्ने व्यहोराको पत्र आउँथ्यो । यस्तो धेरैपटक चलिरह्यो । यस्तो क्रम चलिरहँदा मलाई दिक्क लाग्यो । तिलक कोइरालाले त मुद्दा हालेर क्षतिपूर्ति नै पाउनुभयो । दिक्क लागेपछि गोरखापत्र छोडें । त्यसपछि राजधानीमा काम गरें । गोरखापत्रमा बसन्त पराजुलीलाई सिफारिस गरिदिएँ । उनले अहिले पनि गरिरहेका छन् ।
आफ्नै तलब घटाउन भनें
राजधानीमा राम्रो तलब दिए । त्योबेलाको नम्बर १ कान्तिपुरले दिएको भन्दा बढी तलब ! मलाई संस्थाको माया लाग्यो । बोर्डलाई नै अनुरोध गरेर संस्थाले धान्नेभन्दा बढी तलब भयो, घटाइदिनुस् भनें । सबैले मलाई मूर्ख भने होलान्, किनकि खाइपाइ आएको तलब घटाई पाउँ भनेर अनुरोध गर्ने सायदै होलान् । घट्यो पनि । समायोजन गर्दाको तलब पनि आकर्षक थियो ।
फेरि चितवन
चितवनमा सिनर्जी एफएम खुल्यो । रेडियोमा पनि काम गर्ने मन थियो । त्यसैबेला सहन प्रधान (सिनर्जीका प्रबन्ध निर्देशक)ले समाचार प्रसारण गर्नुप¥यो, न्यूज हेर्नुप¥यो भन्नुभयो । रुचि लागेकै काम पाएँ । पहिलो रेडियो भएकाले यसको क्रेज निकै थियो । मेरो नेतृत्वमा सिनर्जीमा अनन्त नेपाल, रश्मी पन्त, सरिता तिवारी, सुलभ तिमल्सिनालगायत हुनुहुन्थ्यो ।
२०५८ माघ १६ गते पहिलोपटक न्यूज बजायौं । निकै राम्रो ‘रेस्पोन्स’ आयो । हामी पत्रिकामा काम गरेको मान्छे, निकै लामो समाचार लेख्यौं । स्टेशन म्यानेजर अमर प्रधानले लामो भयो समाचार, काट्नुप¥यो भन्नुहुन्थ्यो । चैत, बैशाखसम्म काम गरियो । त्यसैबेला विक्रम पाण्डेले नयाँ रेडियो खोल्नुप¥यो, मिलेर काम गरौं भन्नुभयो ।
पत्रकारबाट एकजना शेयरहोल्डर बन्ने भनेर मलाई छान्नुभयो । १० प्रतिशत शेयर हालेको थिएँ । सुरुमा विक्रम पाण्डे, म, रमेश जोशी र प्रवेशमान श्रेष्ठ मिलेर खोल्यौं । स्टेशन म्यानेजर बनें । विक्रम पाण्डेको एउटा विशेषता भनेको प्लानमा काम गर्ने हो । सिनर्जीपछि हामी आयौं भने हामीपछि पनि अरु पक्कै आउनेछन्, अरुले नभेट्ने गरी काम गर्नुपर्छ भन्नुहुन्थ्यो ।
तर, विविध कारणले लामो समय सहकार्य हुन सकेन । फेरि काठमडौं गएँ । च्यानल नेपालमा काम गरें नयाँ भूमिकामा । समाचारमा काम गर्नेलाई मनोरञ्जन विटमा काम दिइयो । लोकदोहोरी कार्यक्रम उत्पादकको रुपमा काम गरें । चितवनमा ठूलो माहोल थियो । काठमाडौंमा हराएको जस्तो भएँ । फेरि फर्किएँ । त्यसबेला निकै चलेको चितवन पोष्टमा कार्यकारी सम्पादक भएर काम गर्ने मौका पाएँ ।
कायाकैरन स्थापना
चितवन पोष्टमा काम गर्दा पत्रिका सञ्चालनको अनुभव थप गरियो । करिब एक वर्ष काम गरेपछि केही साथीभाइ मिलेर नयाँ पत्रिका खोलौं भन्ने सल्लाह भयो । त्यसबेला चितवन पोष्टको बजार राम्रो थियो । तर, पब्लिकसँग उहाँहरुको व्यवहार त्यति राम्रो देखिएन । बजारमा अर्को एउटा पत्रिका राम्रोसँग चल्छ भन्ने लागेर त्यतिबेलाका चर्चित युवा पत्रकाहरु नारायणप्रसाद अधिकारी, बसन्त पराजुली, प्रकाश ज्ञवाली र विष्णु पौडेलसँग मिलेर व्यवसायी कृष्णकुमार श्रेष्ठ (अहिले हुनुहुन्न) लाई अध्यक्ष बनाएर काम ग¥यौं । कायाकैरनको आफ्नै प्रेस थियो ।
हामीले सुरुमा मास्टहेड (पत्रिकाको नाम) नीलो रंगमा छाप्यौं । अरु पत्रिका सोमबार छापिन्थेन, हामीले सातै दिन छाप्यौं । त्यसपछि पत्रिकाको चर्चा व्यापक भयो । निकै हिट भयो । कायाकैरनकै टिममा अरु व्यवसायी तथा समाजसेवी मिसाएर हाम्रो एफएम स्थापना ग¥यौं । स्टेशन म्यानेजर बनें । तर, त्यसमा पनि एक वर्षभन्दा बढी समय काम गर्न सकिन । युनिक टेलिभिजन नाम दिएर स्थानीय टेलिभिजन पनि खोल्यौं । प्रविन बराल, मच्छिन्द्र श्रेष्ठलगायतसँग मिलेर युनिक टिभी खोल्यौं ।
पछि त्यसलाई सहकारीबाट चलाएर क्रिष्टल टेलिभिजन बनायौं । अहिले पनि चलिरहेकै छ । पछि सामुदायिक रेडियो ध्रुवतारा स्थापना ग¥यौं । यी सबै गर्दा कायाकैरन निरन्तर चलिरहेकै थियो । जतिसुकै समस्या आएपनि यो पत्रिका बचाइराखें । अहिले आएर यसैमा बसेर कुराकानी गर्न पाउँदा गर्व लागेको छ ।
जापान पलायन
दुई सालअघि नेपाल प्रेस युनयिनले एउटा पुरस्कार वितरण समारोह राखेको थियो । युनियनको चितवन जिल्ला पूर्वअध्यक्ष रहेका उनले पनि सोही कार्यक्रममा सम्मान ग्रहण गरे । सम्मानितको हिसाबमा उनलाई माइक दिइयो ।
केहीबेर बोलेपछि उनी डाँको छोडेर रोए । “सार्वजनिक कार्यक्रममा म त्यसरी कहिल्यै भावुक बनेको थिइन”, उनले सम्झिए, “मन साह्रै नमिठो भयो, कतिखेर रोएछु थाहै भएन ।” उनले रुदैं–रुदैं अब आफू केही महिनाभित्रै पत्रकारिताको सारा साम्राज्य छोडेर विदेश भासिन लागेको घोषणा गरे ।
कार्यक्रममा उपस्थित सयौं अचम्मित भए । सबै मुखामुख गरिरहे । कतिपयले भने, “दिनेशजस्तो मान्छे त पत्रकारिता छोडेर विदेश जाँदैछन्, अरु के गर्ने ?” साच्चै उनले गरिआएको सबै काम परिवारको जिम्मा छोडेर जापान जाने निर्णय गरे । केही समयमा उडें पनि । उनी उडेको खबरले धेरैलाई निराश बनायो । कतिपयले ठीक गरिस् पनि भने । तर, धेरैजसोलेचाहिं उडेकोमा गाली नै गरे ।
“झन् म त कहाँ खुसी थिएँ हुँला र”, उनले भने, “कयौं समय पत्रकारिता भुल्नै सकिन । जापानमा काम गर्दा, उठ्दा, बस्दा, सुत्दा सधैं यहाँको वातावरण मिस गरिरहें ।” सामाजिकरुपमा पाएको सम्मान, आत्मसम्मान सबै गुमेको महसुस उनले जापानमा गरिरहेका छन् । हिजो कार्ड देखाएर सर्वोच्च अदालत छिर्न पाएपछि पत्रकारितामा बढेको रहरले पत्रकार भएको मान्छे कयौं मिडिया सञ्चालक हुँदै फेरि पलायन भएका छन् । आर्थिकरुपमा धेरै समस्या भोगेका कारण यहाँको उर्वर समाज छोडेर कतै टाढा भिन्दै भूमिकामा बस्नुपर्दा उनी सधैं दुःखी नै छन् ।
अबको रहर
जापान उड्नुअघि उनलाई ऋण थियो । दुई वर्षमा नै उनले अधिकांश तिरिसकेका छन् । उनको स्वामित्वको मिडिया हाउस अहिले आफूसँग छैन । मिडया हातमा छैन, तर उनीभित्रको मिडियाकर्मी नजिकै छ । होला किबोर्ड टाइप गर्ने औंलाहरु अहिले जापानको होटलमा सर्भ गर्दैमा हैरान छन् । तर, समाचार लैख्न बिर्सिएका छैनन् । “म मिडियामा योजना बनाएर आएको थिइनँ”, उनी भन्छन्, “तर, लागें, लागेको लागेकै भएँ । यसबाट अगग्गै बस्न सक्दै सक्दिन ।” त्यसोभए फेरि मिडियाकर्ममा उसैगरी देखिने सम्भावना छ त ? उनी भन्छन्, “फेरि आएर कम्तीमा क्षेत्रीयस्तरमा चर्चित हुने गरी कलर पत्रिका चलाउने धोको छ ।” मिडियाबाट भाग्न नसकेरै होला उनले एउटा अनलाइन रेडियो पनि सुरु गर्दैछन् ।





