देवचुली, ७ असोज ।
देवचुलीमा रेविज रोग सम्बन्धि साताव्यापी सचेतना कार्यक्रम सुरु गरिएको छ । “रेबिज तथ्यलाई बुझ्न सके राम्ररी, हट्छ डर, त्रास सधैं भरी” भन्ने नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला) नवलपुर जिल्ला समिति र देवचुली नगर समितिको संयुक्त आयोजनामा विश्व रेविज दिवसको अवसरमा देवचुली नगरपालिकाको देवचुली मावि रजहरमा रेविज सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो ।
सडकमा हिँड्ने भुस्याहा कुकुरहरू र बौलाहा कुकुरहरूको संख्या वृद्धि हुँदा मानिस तथा जनावरहरुलाई टोक्ने र रेविज रोग फैलन सक्ने भएकाले सो बाट बच्नका लागि सचेतना कार्यक्रम गरिएको नेभ्ला नवलपुरका अध्यक्ष सत्यनारायण भुसालले बताए । देवचुली नगरपालिकामा नेभ्ला जिल्ला कमिटी र देवचुली नगर कमिटीले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई रेविज रोग सम्बन्धि सचेतना कार्यक्रम गर्ने साथै नवलपुरका अन्य स्थानीय तहका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई समेत कार्यक्रम गरिने भुसालले बताए । उनका अनुसार नेभ्लाद्वारा कुकुरहरुलाई छिट्टै नि:शुल्क रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम समेत रहेको छ ।
नेभ्ला नवलपुरका अध्यक्ष सत्यनारायण भुसालले विद्यार्थीहरुलाई सहजीकरण गरेको कार्यक्रममा देवचुलि मावि व्यवस्थापन समितिका अध्यक्ष सूर्य न्यौपाने, जनज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसाल, पृथ्वी मावि व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर घर्ती, देवचुली माविका प्रधानाध्यापक नारायण भण्डारी, देवचुली कलेजका प्रमुख राजन गौतमको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन नेभ्ला देवचुली नगर अध्यक्ष बसन्त घर्तीले गरेका थिए ।




