भरतपुर, ७ असोज ।
जिल्ला प्रशासन कार्यालय, चितवनको प्रमुखका रूपमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न ध्यान दिने बताएका छन् । बिहीबार कार्यालय परिसरमा पत्रकारहरूसँगको कुराकानीमा प्रजिअ तामाङले आफ्नो कार्यकालमा अपराध न्यूनीकरणमा विशेष जोड दिइने उल्लेख गरेका हुुन् ।
“समाजमा अपराध हुन्छन् । ती अपराधलाई कसरी कम गर्न सकिन्छ भन्नेमा हामी सधैं गम्भीर छौं”, प्रजिअ तामाङले बताए, “चितवन जिल्लामा विगतमा ठूला काण्डहरू घटेको इतिहास छ । त्यस्ता घटना रोक्नु हाम्रो प्रमुख उद्देश्य हुनेछ ।”
यस्तै जिल्लाभित्रका सबै कार्यालयहरूको सामूहिक सेवा प्रणालीलाई चुस्त राख्नमा पनि आफ्नो ध्यान केन्द्रित गर्ने उनले जानकारी दिए । चाँडै नै सबै कार्यालयहरूको सामूहिक सेवा प्रणालीसम्बन्धी प्रतिबद्धता पत्र पनि तयार पारिने उनको भनाइ थियो । “सेवाग्राहीले सहज रूपमा सेवा पाउनु भनेको नागरिकको अधिकारको प्रत्याभूति हुनु हो । त्यसैले कार्यालयहरूमा हुने ढिलासुस्ती तथा अनियमितताका विरुद्ध कडा रूपमा प्रस्तुत हुने योजना बनाएका छौं”, उनले अगाडि थपे, “पत्रकार मित्रहरूले पनि सरकारी कार्यालयहरूमा भएका अनियमितताहरूका बारेमा लेखेर हामीलाई झकझकाउनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।”
प्रजिअ तामाङले कोभिड–१९ जस्तै महामारीजन्य तथा प्राकृतिक वा मानवीय विपद् व्यवस्थापनमा कटिबद्ध भई काम गर्ने प्रतिबद्धता पनि जनाए । यस्तै बजारपसलहरूमा हुने कालोबजारी, लागूऔषधको ओसारपसार तथा अवैध मदिराको बिक्रीवितरणमा पनि निगरानी बढाइने उनको भनाइ थियो । चितवन मेडिकल सिटीको रूपमा परिचित भएकाले अस्पताल तथा स्वास्थ्य प्रणालीमा भएको विकृतिलाई निरुत्साहित पार्नु पनि आफ्नो उद्देश्य रहेको उनले जानकारी दिए । “जिल्लामा एम्बुलेन्स, पोलिक्लिनिक तथा नर्सिङ होमहरूलाई नियमन गर्नुपर्ने आवश्यकता रहेको देखिएको छ । जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालका बारेमा पनि विभिन्न नकारात्मक कुरा सुन्नमा आएका छन् । त्यसबारेमा पनि अस्पतालका मेडिकल सुपरीटेन्डेन्टसँग छलफल गरिरहेका छौं”, उनले बताए ।
जिल्लामा रहेको कृषि तथा वन विश्वविद्यालयमा लामो समयदेखि ताला लाग्दा विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै विश्वविद्यालयको समस्या समाधानका लागि पनि आफूले जोड दिने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । “पछिल्लो ११ वर्षमा ८ वर्ष जस्तो विश्वविद्यालयमा ताला लागेको अवस्था छ । यस्तो अवस्थामा विद्यार्थी र तिनका अभिभावकले गरेको लगानी खेर गइरहेको छ । यस बारेमा पनि आवश्यक छलफल गरिरहेको छु”, उनले थपे ।
पत्रकारसँगको कुराकानीमा प्रजिअ तामाङले चितवन जिल्लाको दक्षिणतर्फ भारतसँग जोडिएको सीमाको सुरक्षामा पनि जोड दिइने बताए ।




