निषेधाज्ञामा लगभग सबैजसो क्षेत्र ठप्प बने पनि लेखन र पठनको क्षेत्रले भने गति लियो । निषेधाज्ञामा घरमै बसेका कवि, लेखकहरू मस्तले किताब पढ्नुका साथै सिर्जनामा तल्लीन रहे । घरमै बसेर सिर्जना गरिरहेका कतिपय लेखकहरूका कृति बजारमा आइसकेका छन् भने कतिपय प्रकाशनको तयारीमा छन् । तयारीमा रहेका पुस्तकहरू दशैँ र तिहार आसपासमा बजारमा आउनेछन् ।
दशैँ पुस्तक व्यापारको राम्रो याम हो । प्रकाशकले पनि त्यहीअनुसार तयारी गरिरहेका छन् । यही मेसोमा आइसकेका र आउने तयारीमा रहेका चितवनका केही लेखकहरूको बारेमा हामीले सानो सामग्री बनाएका छौँ ।
वसन्त पराजुली
व्यावसायिक पत्रकारिता गरिरहेका पराजुली ‘कुमाता’ कथासङ्ग्र्रहसहित साहित्य बजारमा आएका हुन् । भुँडीपुराण प्रकाशनबाट २०७६ साल फागुनमा प्रकाशित कुमाता गत महिना तेस्रो संस्करण सार्वजनिक भएको छ । पराजुलीले लेखेको अर्को कथासङ्ग्रह ‘मोम्चो’ दशैँलगत्तै सार्वजनिक हुने प्रकाशक साङ्ग्रिला बुक्सले बताएको छ । लकडाउनले गर्दा पढ्न लेख्न समय मिलेको र नयाँ सङ्ग्र्रह तयारी गर्न सहज भएको पराजुलीले बताए ।
सुमन घिमिरे
घिमिरे पर्यटन व्यवसायी हुन् । कविता र आख्यानमा कलम चलाउने उनको कवितासङ्ग्रह गत महिना प्रकाशित भयो । ‘सूनको टप’ र ‘फायर अफ साइक्लोन’ गरी नेपाली र अङ्ग्र्रेजी भाषामा एकैपटक दुई वटा कृति प्रकाशन गरेका घिमिरेले लकडाउनका बेलामा सङ्ग्र्रह तयार गर्न सजिलो भएको बताए ।
विनोदबाबु रिजाल
रिजाल पत्रकार हुन् । कायाकैरन दैनिकका सम्पादक उनी प्राध्यापन पनि गर्छन् । कोरोना महामारी सुरु भएसँगै डायरी लेखेर चर्चा कमाएका उनी अहिले कथा लेखनमा सक्रिय छन् । उनको पहिलो पुस्तक ‘एकान्तवास’ लकडाउनकै समयमा सार्वजनिक भएको थियो । कथाहरू लेखिसकेर छिट्टै प्रकाशनमा ल्याउने तयारी भइरहेको रिजालले बताए ।
सिर्जन अविरल
अविरलको भर्खरै मात्र ‘मोक्ष’ उपन्यास सार्वजनिक भएको छ । लामो समयदेखि प्रकाशनको तयारीमा रहेका उनलार्ई लकडाउनको फुर्सदमा किताब फाइनल गर्न सजिलो भएको हो । यसअघि कविता र जीवनीका किताब प्रकाशन गरेका अविरलको पहिलो उपन्यास हो, मोक्ष । प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित उनी पुस्तकको बिक्री राम्रो हुने र पाठकले रुचाउनेमा ढुक्क छन् ।
निर्दाेष जीवन
निर्दाेष जीवन पछिल्लोपटक लेखनमा सक्रिय छन् । गजल, कथा हुँदै उपन्यास लेखनमा होमिएका उनको ‘नोस्टाल्जिया’ आउँदै छ । तिहारको मेसो पारेर पुस्तक सार्वजनिक गर्न लागिएको उनले बताए ।
मीनराज वसन्त
वसन्त मूलतः लेखनमै सक्रिय छन्। लकडाउनका बेलाका एकान्तवासलार्ई पूर्णरूपमा लेखनमा खर्चेका उनले तीन वटा पुस्तक तयार गरेको बताउँछन् । यीमध्ये राहुल सांकृत्यायनको ‘लेनिन’ पुस्तकलार्ई नेपाली भाषामा अनुवाद गरेर बिएन पुस्तक संसारबाट अघिल्लो साता प्रकाशित भएको छ । अरू पुस्तक अनुकूल मिलाएर बजारमा ल्याइने उनी बताउँछन् ।
सुरेन्द्र अस्तफल
अस्तफल कविता लेख्छन् । लकडाउनमा पुस्तक पढेर र कविता लेखेर समय सदुपयोग गरेका उनले ‘तेल भिषा’ कवितासङ्ग्र्रह तयार गरेका छन् । कृति दशैँअगावै पाठकको हातमा आइपुग्ने उनी बताउँछन् ।
रामहरि श्रेष्ठ
श्रेष्ठ पछिल्लोपटक नियात्रा र संस्मरण लेखनमा सक्रिय छन् । लकडाउनका बेलामा घरमै बसेर प्रशस्त मात्रामा लेख्न पढ्न पाएका उनले गत महिना मात्रै ‘भूल्न नसकिएको अतीत’ पुस्तक सार्वजनिक गरे । अर्काे निबन्ध सङ्ग्रहको पनि तयारी सकिएको र बजारको अवस्था सुध्रेमा पुस्तक ल्याउने तयारी भएको उनी बताउँछन् ।
एलबी क्षेत्री
क्षेत्री चितवनमा जतिबेला पनि सक्रिय रहने पाका स्रस्टा हुन् । उनी कुनै बेला पनि खाली बस्न सक्दैनन् । उमेरले पाको भए पनि उनमा तन्नेरी जोश जाँगर देखिन्छ । लकडाउनमै ४ वटा किताब लेखेर सकेको र तीन वटा त प्रकाशनको संघारमै पुगेको उनी बताउँछन् । लकडाउन अवधिमा क्षेत्रीले कवितासङ्ग्र्रह, संस्मरण र आत्मकथा लेखेका छन् । अङ्ग्रेजी भाषामा कविता र कथाको एउटै संकलन पनि उनले तयार गरेका छन् । त्यसो त आत्मकथाको काम पनि केही बाँकी रहेको र अरू किताब अब छपाइमा जाने उनले बताए ।




