नारायणगढ पुतलीबजारकी रजनी मास्के उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्य हुन् । लामो समयदेखि संघमा कार्यसमिति सदस्यको रुपमा रहँदै आएकी उनी संघको महिला उद्यमी समितिको संयोजक पनि हुन् । उद्योग वाणिज्य संघले संचालनमा ल्याएको कोसेली घरकी संयोजकसमेत रहेकी उनी हाल ग्रामीण महिला उद्यमीको घरेलु उत्पादन बजार प्रवद्र्धनमा पनि सक्रिय छिन् । प्रस्तुत छ, मास्के पुस्तक पसलको संचालकसमेत रहेकी उनीसँग चितवनमा महिला उद्यम र कोसेली घरबारे गरिएको कुराकानी:
चितवनमा महिला उद्यमीको अवस्था कस्तो छ ?
पछिल्लो समयमा महिला उद्यमीको संख्या पहिलेभन्दा बढेको देखिन्छ । पाँच वर्षयता महिलाहरु घरको काममा सीमित मात्रै नभएर विभिन्न व्यवसाय र उद्यम गरिराखेको पाइन्छ । महिलाहरु विभिन्न सीप सिकेर उद्यममा लागेको देखिन्छ ।
विगतको तुलनामा महिलाहरु अहिले उद्यममा आकर्षित हुनुको कारण के हो ?
विगतमा उद्योग भनेर वाणिज्य संघ भए पनि त्यहाँ पुरुषको मात्रै प्रतिनिधित्व हुने गर्दथ्यो । महिला उद्यमी भनेर कोटा राखे पनि त्यसमा पुरुषले नै ठाउँ ओगटेको देखिन्थ्यो । महिलाहरुको संख्या विस्तारै बढ्दै गयो । दुईचार वर्षसम्म त महिलाहरुको अग्रसरता र प्रतिनिधित्व पनि कम हुन्थ्यो । महिलाहरु संघसंस्थामा गएर के हुन्छ र ? भन्ने सोच थियो । जब महिलाहरु संघसंस्थामा जोडिँदै गए, हामीले पनि केही गर्नुपर्छ भन्ने सोच बढ्दै गयो ।
उद्योग वाणिज्य संघ चितवनमा पहिला एक जना मात्रै महिला कार्यसमितिमा रहँदा र अहिले विस्तारै पाँच जनासम्म पुग्दा केही गर्नुपर्छ भन्ने सोच पनि बढ्दै गयो । पछि हामीले चितवनका विभिन्न ठाउँमा महिला भेला ग¥यौँ । धेरै चाहना भएर पनि महिलाहरु अगाडि बढ्न नसकेको पायौँ । सोहीअनुरुप नै हामीले दुई वर्षअघि महिला उद्यमी मेला ग¥यौँ । त्यहाँ त नसोचेको तरिकाले महिलाहरुले आफ्नो उत्पादन लिएर आउनुभयो । बजारदेखि ग्रामीण भेगका महिलाहरुले पनि फुर्सदको समय निकालेर धुप बाट्नेदेखि अमलाको क्यान्डी, गुन्दुक र मस्यौरा लगायत विभिन्न उत्पादन गरेर उद्यमशीलतामा आउन थालिसक्नु भएको रहेछ । दिदीबहिनीका यिनै उत्पादन बेच्न पनि हामीले कोसेली घर खोल्नुपर्छ भन्ने सोच आयो ।
अहिले महिलाहरुको संख्या बढ्दै गएको छ । महिलाहरु तालिम लिएर उद्यम गरी आफै कमाउनुु पर्छ भनेर लाग्नु भएको छ । अहिले उद्योग वाणिज्य संघमा ९ सयभन्दा बढी महिला सदस्य हुनुहुन्छ ।
चितवनमा महिलाले कस्ताकस्ता उद्यम सञ्चालन गर्नुभएको छ ?
चितवनमा अहिले महिलाहरुले विभिन्न उद्यम सञ्चालन गर्नुभएको छ । अचार बनाउने, सिलाइबुनाइ, रोटी बनाउने, ब्युटीपार्लर, गार्मेन्ट, गलैँचा बुन्ने, फेब्रिक प्रिन्ट लगायतका व्यवसाय सञ्चालन गरेको पाइएको छ । महिलाले उत्पादन गरेका वस्तुलाई अहिले हामीले कोसेली घरबाट पवद्र्धन गरिरहेका छौँ ।
कोसेली घर कसरी सुरु गर्नुभयो ?
उद्योग वाणिज्य संघ चितवनले कोसेली घर २०७६ सालमा सञ्चालनमा ल्याएको हो । यसको सुरुवाती क्षणको कुरा गर्ने भने एउटा घटनालाई बिर्सन मिल्दैन । त्यसपछि अन्य कुरा पनि जोडिएर आउँछन् । त्यतिबेला चितवन महोत्सवको समय थियो । इच्छाकामना गाउँपालिका, सिद्धिका दिदीबहिनीहरुले नारायणगढको इमेज होटलमा एउटा कार्यक्रम गर्नुभएको थियो । त्यो दिन म कार्यक्रममा जाने भन्ने थाहा थिएन । महोत्सवको व्यस्तताले संघबाट म जाने भन्ने खबर आयो । म गएँ ।
त्यहाँ पुग्दा त म अचम्मै भएँ । त्यहाँका दिदीबहिनीले मास, मह, लसुन, बेसार, गेडागुडीलगायत कृषि उत्पादन लिएर आउनुभएको रहेछ । सिद्धि जस्तो दुर्गम गाउँमा पनि उहाँहरुले महिला समूह बनाएर कृषि उत्पादन गर्दै आउनुभएको रहेछ । तर बजारीकरणको समस्या रहेछ । त्यसपछि मैले उहाँहरुलाई ‘साम्रगी बिक्रीको लागि महोत्सवमा एउटा स्टल मिलाइदिन्छु, तपाईंहरुको पहिचान पनि झल्कने गरेर’ भनी वाचा गरेर म कार्यक्रमबाट फर्किएँ ।
पछि आएर महोत्सव संयोजकसँग कुरा गर्दा त सबै प्याक भइसक्यो भन्ने कुरा आयो । मैले उहाँहरुलाई ‘तपाईंहरुको सबै सामान मेरो मास्के पुस्तक भण्डारमा ल्याईदिनुस्’ भनेँ । उहाँहरुले ल्याइदिएको मास, चुक अमिलो, पिँडालु बिक्री भइहाल्यो । त्यसपछि नै मैले त्यतिबेलाका अध्यक्ष सहनलाल प्रधानलाई ‘यिनै दिदीबहिनीलाई हेरेर भए पनि एउटा कोसेली घर खोल्नुपर्छ’ भनेर प्रस्ताव राखेँ । पछि बैठक बसेर नै खोल्ने निर्णय गरियो । घरेलु तथा साना उद्योगले पनि कोसेली घरलाई धेरै सहयोग गरेको छ । अहिले सामाजिक विकास मन्त्रालयको १५ लाख सहयोग र हाम्रो १० लाख लगानीमा आफ्नै भवनमा कोसेली घर संचालन गरिराखेका छौँ ।
अहिले कोसेली घरले महिला उद्यमीलाई कसरी सहयोग गरिरहेको छ ?
कोसेली घरले विशेषगरी महिलाहरुका उत्पादनलाई बजारीकरणमै सहयोग गरिरहेका छौँ । हामीले उहाँहरुको सामान किनिदिन्छौँ । पहिले होलसेलमा सस्तो मूल्यमा सामान बेच्नुपर्ने बाध्यता थियो भने अहिले हामीले उचित मूल्य दिएर किन्ने गरेका छौँ । अहिले झण्डै ५० देखि ६० जना महिलाका विभिन्न उत्पादन कोसेली घरबाट बिक्री गर्दै आएका छौँ ।
कोसेली घरले महिलालाई उद्यम गर्न प्रेरणा पनि दिएको छ । पहिले घरायसी प्रायोजनका लागि मात्रै उत्पादन गर्ने गरे पनि अहिले त्यसैलाई व्यवसाय बनाएर मज्जाले आम्दानी लिइरहनुभएको छ । चितवनका बजारदेखि दुर्गम गाउँसम्मका महिलाका विभिन्न उत्पादनलाई हामीले बजार प्रवद्र्धन गरिरहेका छौँ ।
कोसेली घर पनि कोरोना महामारीले प्रभावित बन्यो होला है ?
कोरोनाले विश्व नै प्रभावित हुँदा हामी प्रभावित नहुने कुरै भएन । टाढाटाढाका महिलाहरुका उत्पादन ल्याउन सकिएन । अब खुकुलो बन्दै जाँदा बिस्तारै सहज बन्दै गएको छ ।
महिलाहरु किन उद्यममा आउनुपर्छ भन्ने लाग्छ तपाईलाई ?
महिलाहरु उद्यममा आउन अत्यन्तै आवश्यक छ, अबको समयमा झनै । कतिपय महिलाहरु आइरहनुभएको छ । यो सकरात्मक पक्ष हो । धेरैजसो महिलाहरुको अधिकांश समय घरधन्दामै व्यतीत गर्नुपर्ने बाध्यता पनि छ । पछिल्लो समय महिला सशक्तिकरण गर्नुपर्छ, आत्मनिर्भर हुनपर्छ भनेर खुबै सुनिने आवज हो । तर त्यो महिलाको सामाजिक, राजनीतिक, शिक्षा, रोजगारी, अझ भनौँ प्रत्यक्षरुपमा आम्दानी र आर्थिक अवस्थासँग जोडिने कुरा भएकाले पनि व्यावसायिकता र उद्यमशीलतामा नलागेसम्म त्यो नारामै सीमित हुन्छ जस्तो लाग्छ । त्यसैले महिलालाई उद्यममा जोडिन घरपरिवार र राज्यले अवसरबाट वञ्चित गर्नुहुँदैन । महिला पनि पछि हट्नुहुँदैन ।
महिलाहरु उद्यममा आएपछि आत्मबल बलियो हुनेदेखि सामाजिक संघसंस्थामा अगाडि बढ्नेसम्म अग्रसर भएको देखिन्छ । अहिले त महिलाका विभिन्न समूह बनाएर सामुहिक रुपमा अगाडि बढेको पनि देखिन्छ । चाहे सानो होस् वा ठूलो, महिला उद्यमी बन्नुपर्ने आवश्यकता देखिन्छ ।
महिलालाई उद्यममा अगाडि बढ्न राज्यले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपार्ईंलाई ?
राज्यले महिला उद्यमीलाई एकदमै प्राथमिकतामा राखेको भनिराखेको सुनिन्छ । तर व्यवहारमा त्यस्तो पाइँदैन । कर्जा लिँदा ब्याजदरमा यति प्रतिशत छुट, केके अफर भन्ने सुनिन्छ । तर व्यवहारमा त्यो एकदमै झन्झटिलो हुन्छ, जसले गर्दा महिला उद्यमीहरुले सहजै लाभ लिन पाइरहेका छैनन् । राज्यले महिलाको लागि छुट भनेर ल्याइएका विभिन्न योजनामा सजिलो तरिकाले बाटो देखाउनु पर्छ ।
उद्योग वाणिज्य संघ चितवनमा अहिलेसम्म प्रमुख नेतृत्वदायी भूमिकामा महिला पुगेको देखिँदैन नि ?
आठ वर्ष अगाडि त महिला चुनावमा लड्ने स्थिति पनि थिएन । एकजना मनोनित गरेर लैजाने काम हुन्थ्यो । अहिले चार जना चुनाव लडेर, एक जना मनोनित गरेर पाँच जना कार्यसमितिमा छौँ । अब भने अवसर लिन हामी पनि सक्षम भएका छौँ । नेतृत्वदायी भूमिकामा आउनेबारे सोचिरहेका छौँ ।