भरतपुर, ७ असोज ।
राष्ट्रियसभाले चालू आर्थिक वर्षको संशोधित बजेट (विनियोजन विधेयक) पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीभ विधेयक बहुमतले पारित भएको हो ।
बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिमा सदन सञ्चालन गर्न आग्रह गरे पनि सांसदहरु नबसेपछि विधेयकलाई प्रक्रियामा लगेका थिए ।
राष्ट्रियसभाबाट पास भएको विनियोजन विधेयक जस्ताको त्यस्तै सन्देशसहित प्रतिनिधिसभामा फिर्ता आउनेछ। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा राष्ट्रियभाबाट प्राप्त सन्देश सुनाउनेछन् र प्रमाणीकरणका लागि हस्ताक्षर (सनाखत) गरेर राष्ट्रपतिकहाँ पठाउनेछन् ।
राष्ट्रपतिले आजै उक्त विधेयक प्रमाणीकरण गर्ने सम्भावना छ । विनियोजन विधेयक प्रमाणीकरण भएपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको भए पनि साढे २ बज्दासम्म सुरु भएको छैन ।




