भरतपुर, ३० श्रावण ।
चितवनमा आइतबार र सोमबार (श्रावण ३१ र ३२ गते) विश्वविद्यालय तहका परीक्षामा सामेल हुने विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार विभिन्न विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका परीक्षामा दिइरहेका तथा निटक भविष्यमा दिन लागेका परीक्षार्थीहरूलाई भेरो सेल खोपको पहिलो मात्रा दिन लागिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार परीक्षार्थीले विश्वविद्यालयले जारी गरेको परीक्षा प्रवेश पत्र देखाएर खोप लगाउन सक्नेछन् । खोप लगाउन इच्छुक परीक्षार्थीहरूले सम्बन्धित स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरूमा पुगी खोप लगाउन सक्ने कार्यालयले जनाएको छ ।
चितवन जिल्लाभित्र रहेका क्याम्पसबाट परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरूलाई खोप दिने तयारी भएको कार्यालय प्रमुख तिवारीले बताए । क्याम्पसहरूबाट विद्यार्थीहरूको सूची प्राप्त भएपछि सोही आधारमा परीक्षार्थीहरूलाई खोप दिइने उनले जानकारी दिए ।
त्यसपछि यसअघि श्रावण ११ गतेदेखि १३ गतेसम्म पहिलो मात्राको भेरो सेल खोप लगाएकालाई दोस्रो मात्राको खोप दिइने कार्यालयले जनाएको छ । उनीहरूलाई भाद्र १ देखि ३ गतेसम्म भेरो सेल खोपको दोस्रो मात्रा प्रदान गर्ने योजना रहेको तिवारीले सुनाए ।
जिल्लाभर लगाइए २ लाख ४० हजार डोज खोप
चितवन जिल्लामा हालसम्म २ लाख ४२ हजार १०८ मात्रा खोप लगाइएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार श्रावण २९ गतेसम्ममा १ लाख २० हजार २ जनाले पहिलो मात्राको खोप लगाएका हुन् भने १ लाख २२ हजार १०६ जनाले पूर्ण मात्राको खोप लगाएका हुन् ।
जिल्लामा हालसम्म ३७ हजार ५७१ जनाले जेन्सेन खोप लगाएका छन् । जेन्सेन एक मात्रा मात्रै लगाए पुग्ने खोप हो ।
पहिलो मात्राको खोप लगाएकामध्ये ३९ हजार ९२१ जनाले एस्ट्राजेनेकाको खोप लगाएका हुन् भने ८० हजार ८१ जनाले भेरो सेल खोप लगाएका हुन् ।
पहिलो मात्राको रूपमा एस्ट्राजेनेका लगाएकामध्ये ५ हजार ४०२ जनाले दोस्रो मात्रा पाउन बाँकी रहेका छन् । यस्तै पहिलो मात्रा भेरो सेल लगाएका ३० हजार ६५ जनालाई दोस्रो मात्रा दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
निषेधाज्ञाका सम्बन्धमा गृहकार्य हुँदै
जिल्लामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ । स्थानीयले जनस्वास्थ्यको मापदण्डको पालना नगरेको तथा लापरवाही बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा थप कडाइ गरिने बताउँदै श्रावण मसान्तसम्म निषेधाज्ञा थपेको थियो ।
प्रशासनले बजार तथा पसललाई हप्ताको सातै दिन सञ्चालनको अनुमति दिएकामा संक्रमण पुनः बढेको भन्दै उनीहरूलाई हप्ताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) मात्रै सञ्चालन गर्न पाइने गरी निषेधाज्ञामा कडाइ गरेको थियो ।
श्रावण मसान्तपछि पनि निषेधाज्ञा लम्ब्याउने/नलम्ब्याउने भन्ने बारेमा आन्तिरक गृहकार्य भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख दीपक प्रसाद तिवारीले बताए । निषेधाज्ञाका सम्बन्धमा आइतबार बैठक बस्ने र सोही अनुसार कदम चालिने उनको भनाइ थियो ।





