भरतपुर, २८ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा अस्पताल तथा आइशोलेसन सेन्टरबाट १९ जना संक्रमित निको भई घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालयले शुक्रबार प्रकाशन गरेको दैनिक रिपोर्टअनुसार भरतपुर अस्पतालमा उपचार गराइरहेका दाङ र नवलपरासीका १–१ जना संक्रमितको मृत्यु भएको हो ।
जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा कोभिड संक्रमितको उपचारका लागि ९६२ वटा बेड छुट्याइएका छन् । ती मध्ये ३१४ बेड बिरामीले भरिएका छन् ।
हाल जिल्लाभर १२१ जना आइसीयु, ४२ जना एचडीयू तथा १४९ जना जेनरल बेडमा उपचाररत छन् । आइसीयुमा रहेकामध्ये ३४ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा १०६, चितवन मेडिकल कलेज (सीएमसी)मा ७९, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस)मा ३० तथा क्यान्सर अस्पतालमा १४ जना संक्रमितको उपचार भइरहेको छ । पुष्पाञ्जली, नारायणी सामुदायिक र भरतपुर सेन्ट्रल अस्पतालमा पनि ३५ जना संक्रमितले उपचार गराइरहेका छन् ।
भरतपुर अस्पतालले कोभिड उपचारका लागि १९०, सीएमसी अस्पतालले २६७, सीएमएस अस्पतलाले २०० तथा क्यान्सर अस्पतालले १४२ वटा बेड छुट्याएका छन् । रत्ननगरको गुञ्जमान सिंह अस्पतलाले पनि कोभिड बिरामीका लागि १० वटा शय्या छुट्याएको छ ।
भरतपुर महानगरपालिकाले ५० बेड, रत्ननगरले २८ बेड, राप्तीले २० बेड र कालिकाले १२ बेडको आइशोलेसन सेन्टर सञ्चालन गरेका छन् । ती सबैमा शय्यामा अक्सिजनको पनि व्यवस्था गरिएको छ । यस्तै, माडीले ५ ओटा अक्सिजन सहित १० बेड क्षमताको आइशोलेसन सञ्चालनमा ल्याएको छ ।
खैरहनीले सञ्चालनमा ल्याएको १५ शय्याको आइशोलेसनमा ११ शय्यामा अक्सिजन समेत उपलब्ध गराइएको छ । यस्तै इच्छाकामना गाउँपालिकाले पनि १० वटा अक्सिजन सहितको २५ बेडको आइशोलेसन सेन्टर स्थापना गरेको छ । माडी नगरपालिकाले बघौडा अस्पताल, रत्ननगरले बकुल्हर अस्पताल तथा कालिका र राप्तीले भण्डारा अस्पतालमा आइशोलेसन निर्माण गरेका हुन् ।
हाल रत्ननगरको आइशोलेसनमा २, माडीमा ६, खैरहनीमा ६ तथा भरतपुरमा २१ जना संक्रमित राखिएका छन् । यस्तै, इच्छाकामनामा १० तथा कालिकामा ५ जना संक्रमित राखिएका छन् ।





