भरतपुर, १ वैशाख ।
आमाबाट छुट्टिएकी गैँडाकी बच्ची पुष्पाले आफू जस्तै अर्की साथी पाएकी छ । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा भेटिएकी अर्की केटी गैँडाको उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण दिन थालेको हो । नयाँ बच्चीको नाम अञ्जली राखिएको छ ।
पुष्पाको हेरचार गरिरहेका वाइल्डलाइफ टेक्निसियन लालबहादुर महतराले अञ्चलीको पनि रेखदेख गरिरहेका छन् । चैत २३ गते उद्धार गरेर ल्याइएकी अञ्जलीको उमेर एक महिना पनि पुगेको छैन । उसलाई भेटेर संरक्षणका लागि ल्याइँदा जम्मा १४ दिनकी भएकी महतराले बताए । “अञ्जलीलाई एक्लै भौतारिरहेको अवस्थामा भेट्टाएका थियौं । भोकका कारण कमजोर देखिएकी थिई”, महतराले सुनाए ।
आफ्नै प्रजातिको साथी पाएपछि पुष्पा पनि रमाएकी छे । पुष्पाले चौर क्षेत्रको घाँस चर्न थालिसकेकी छे । अञ्जलीलाई भने हाल दैनिक १४ पटक प्रोटिनमिश्रित दूध मात्रै खुवाउने गरिएको छ । उसलाई हरेक दुई घण्टाको फरकमा दूध खुवाइने गरेको महतराले जानकारी दिए । पुष्पा र अञ्जली दुवै जना वनको वातावरणसँग अभ्यस्त हुँदै गएपछि प्राकृतिक वासस्थानमा लगेर छाडिनेछ ।








