सुरु भयो कोभिड–१९ महामारीको दोस्रो लहर

भरतपुर, १ वैशाख । ।

सोमबार नेपालमा ५ हजार १ सय ५ ओटा परीक्षण गरिएकामा ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । ४ हजार ३ सय ७८ ओटा पीसीआर तथा ७ सय २७ ओटा एन्टिजेन टेष्ट गरिँदा पीसीआर विधिबाट ४ सय ९६ तथा एन्टिजेनबाट ६३ जनामा संक्रमण देखिएको हो । अवस्था यत्तिमा रोकिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नै प्रकाशन गरेको सिचुएसन रिपोर्टले पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको आँकडा प्रस्तुत ग¥यो । २०७७ पुस २४ गते ५ सय ५४ जना नयाँ संक्रमित भेटिएयता एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो घटना हो । थपिएका नयाँ संक्रमितहरूको सूचीमा १८ वर्ष मुनिका बालबालिकाको संख्या पनि उल्लेख्य मात्रामा बढ्न थालेको छ । १८ वर्ष मुनिकाहरूमा सोमबार संक्रमण दर ६.८५ प्रतिशत पाइएको थियो । पछिल्ला केही महिनाहरूमा सक्रमणको दर घटेको देखिएपनि चैत्र महिनायता भने संक्रमितको संख्या पुनः उकालो लाग्न थालेको देखिएको छ । यसले नेपालमा पनि कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएको संकेत गरेको छ । मंगलबार पनि ४६० जना नयाँ संक्रमित थपिँदा ५ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार २०७७ चैत महिनामा जिल्लामा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । फाल्गुन महिनामा उक्त संख्या जम्मा ९६ रहेको थियो भने माघ महिनामा १ सय ९८ जना नयाँ संक्रमित भेटिएका थिए । गएको कार्तिक महिनामा जिल्लामा सर्वाधिक २ हजार १ सय ५८ जना संक्रमित थपिएका थिए भने मंसिर र पुस महिनामा नयाँ संक्रमितको संख्या घटेर क्रमशः ८ सय ६३ र ४ सय ४२ पुगेको थियो । जिल्ला बाहिरबाट आएर यहीँ उपचार गराइरहेका एक संक्रमितको सोमबार मात्रै निधन भएको पनि स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । संक्रमितको संख्या एकै पटक फेरि बढ्न थाल्नुले महामारीको दोस्रो लहर सुरु भएकोतर्फ सकेत गरेको स्वास्थ्य कार्यालयका प्रमुख दीपक प्रसाद तिवारी बताउँछन् ।

“अन्य देशहरूमा पहिलो लहरको तुलनामा दोस्रो लहरले बढी असर पारेको देखिएको थियो । त्यसैलाई आधार मान्दा नेपालमा पनि दोस्रो लहर आउँदैछ भन्ने थाहा थियो”, उनले अगाडि भने, “कोरोना भाइरसका सक्रिय संक्रमित शून्यमा पुग्दा पनि हामीले सचेतनामूलक सामग्री सम्प्रेषण गर्न छाडेनौं ।” आरएनए परिवार अन्तर्गतको कोरोना भाइरस नयाँ खालको भएकाले त्यसको प्रभाव आँकलन गर्न सहज नभएको उनको भनाइ थियो । “कोरोना भाइरस पनि रुघाखोकी लगाउने भाइरस जस्तै भएकाले त्यसको असर जाडो महिनामा बढी पर्ने अनुमान गरेका थियौं । तर त्यस्तो देखिएन । गर्मी मौसम सुरु हुने बेला कोरोना संक्रमित बढे”, तिवारीले भने, “अब त नयाँ भेरियन्टको भाइरस आएको छ । त्यसलाई बुझ्न त झन् बाँकी नै छ ।”

पहिलो लहरका क्रममा भाइरसले खासै प्रभाव पार्न नसकेको जर्मनीमा दोस्रो लहर झनै खतरनाक भएर आएको भन्दै तिवारीले नेपालमा भवितव्य हुन नदिन सर्वसाधारणले सबै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने जिकिर गरे । “फेरि पनि लकडाउन गरेर कडा रूपमा प्रस्तुत हुने अहिले हाम्रो मनस्थिति छैन”, कायाकैरनसँग उनले बताए, “सबैले संक्रमण फैलन नदिन रोकथामका उपाय अपनाउनुपर्छ । नाकमुख छुने, मास्क नलगाई हिँडडुल गर्ने, जस्ता गल्ती अब गर्नु हुँदैन ।”

महामारीको दोस्रो लहर नियन्त्रणका लागि यस पटक क्वारेन्टिन बनाउन नसकिने उनको भनाइ थियो । यद्यपि स्थानीय अस्पतालमा आइसोलेसन वार्ड निर्माण गर्नमा भने आफूहरू केन्द्रित रहेको उनले सुनाए । “जिल्लाका विभिन्न ४ ओटा सरकारी अस्पतालमा पाँच शय्याको आइसोलेसन वार्ड स्थापना गरेका छौं । हाम्रो उपचार प्रणालीले धान्नै नसक्ने गरी संक्रमितको संख्या बढ्न थाले भने त्यस्तो अवस्थामा केही कडा निर्णय गर्नुपर्ने हुनसक्छ”, उनले थपे, “विद्यालय जस्ता बढी जमघट हुने ठाउँलाई खुल्ला राख्ने वा बन्द गर्ने भन्ने निधो गर्न पनि केही समय लाग्छ । सबैले रोकथामका उपाय अपनाइदिने हो भने महामारीले ठूलो रूप नलिन पनि सक्छ ।” भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पनि हालका लागि विद्यालय बन्द गर्ने खालको योजना नबनाएको बताएको छ । “केन्द्रबाट जे निर्णय आउँछ, हामीले त्यसैलाई लागू गराउने हो”, महाशाखाका अधिकृत ऋषिराम शर्माले बताए, “सरकाले हामीलाई आफैँ निर्णय गर्न दिएको हकमा भने हामीले सोच्नुपर्ने हुन्छ ।”

अग्रपंक्तीमा रहेर कोरोना भाइरस नियन्त्रणमा भूमिका खेल्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, लगायतलाई वैशाख ८ गतेदेखि प्रदान गर्ने भनिएको दोस्रो मात्राको खोप भने नरोकिने जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । जिल्लामा करिब १६ हजार जनाले फ्रन्टलाइन कर्मचारीका रूपमा पहिलो मात्राको खोप लिएको बताउँदै कार्यालयले सबैलाई पुग्ने गरी खोपको व्यवस्थापन गरिने जनाएको हो । “सबैलाई नपुगे पनि स्वास्थ्यकर्मीका लागि जसरी हुन्छ खोप उपलब्ध गराउने पक्षमा हामी छौं । चिकित्सकहरूको मनोबललाई उच्च राखिरहन पनि खोपको सुनिश्चितता गरेका हौं”, तिवारीले बताए ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट