भरतपुर, ५ चैत्र ।
भरतपुर महानगरपालिकाभित्र उत्सर्जन हुने फोहोरमैलाको सङ्कलन र व्यवस्थापनका लागि महानगरले दुई ओटा निजी कम्पनीसँग नयाँ ठेक्का सम्झौता गरेको छ । यस्तै घरधनीले फोहोरमैला सङ्कलन गरिदिएबापत निजी कम्पनीलाई बुझाउनुपर्ने शूल्कको दरमा पनि परिमार्जन गरिएको महानगरपालिकाको वातावरण शाखाका प्रमुख वरिष्ठ इञ्जिनियर विराट घिमिरेले जानकारी दिए ।
इञ्जिनियर घिमिरेका अनुसार हाल महानगरलाई बढी वा कम शहरीकरण भएको क्षेत्रका आधारमा विभिन्न तीन भागमा विभाजन गरी फोहोरमैलाको सङ्कलन गर्ने गरिएको छ । पहिलो भागमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि वडा नं ५ सम्मको क्षेत्र पर्दछ । त्यस्तै दोस्रो भागमा वडा नं ७ देखि वडा नं १२ सम्मको क्षेत्र र तेस्रोमा वडा नं ६ र वडा नं १३ देखि २९ सम्मको क्षेत्र पर्दछन् । महानगरपालिकाले पहिलो भागमा उत्सर्जन हुने फोहारेको सङ्कलनका लागि वातावरणीय सुन्दर नेपाल प्रा.लि.सँग सम्झौता गरेको हो भने दोस्रो भागका लागि वेष्ट म्यानेजमेन्ट ग्रुप प्रा.लि.सँग सम्झौता गरेको हो । सम्झौता अनुसार वातावरणीय सुन्दर नेपाल प्रा.लि.ले आफूले घरधनीहरूबाट एकमुष्टमा उठाएको सरसफाइ शूल्कको ४५ प्रतिशत रकम महानगरपालिकालाई बुझाउनु पर्नेछ । बाँकी ५५ प्रतिशत रकम ऊ आफैँले राख्न पाउनेछ । उता वेष्ट म्यानेजमेन्ट ग्रुप प्रा.लि.ले भने २५ प्रतिशत रकम महानगरपालिकालाई बुझाउनु पर्नेछ । उसले आफ्नो साथमा ७५ प्रतिशत रकम राख्न पाउनेछ । तेस्रो भागको फोहोरमैला भने महानगर आफैँले उठाउँदै आएको छ ।
वातावरणीय सुन्दर नेपालले महानगरसँग फोहोरमैला सङ्कलन एवं व्यवस्थापन कार्यमा पहिलो पटक साझेदारी गर्न लागेको हो । वेष्ट म्यानेजमेन्टले भने आफ्नो सम्झौता अवधि समाप्त भएपछि नयाँ सम्झौताका लागि आवेदन दिएकामा ऊ फेरि छनौट भएको हो । “हामीले सरसफाइ शूल्क लिएर फोहोरमैला सङ्कलन तथा व्यवस्थापन गर्ने परिपाटी आजभन्दा पाँच वर्षअघि सुरु गरेका हौं । त्यही बेलादेखि नै महानगरको भूभागलाई तीन ओटा सेक्टरमा बाँडेर फोहोरफैलाको व्यवस्थापन गर्दै आएका छौं“, इञ्जिनियर घिमिरेले भने, “निजी क्षेत्रले फोहोरमैलाको सङ्कलन र ढुवानी गर्ने काम गर्छन् । डम्पिङ्ग साइटमा लगेर व्यवस्थित गर्ने काम भने महानगरले गर्छ ।” फाहोर फाल्नका लागि निश्चित स्थान नभएकाले तथा डम्पिङ्ग साइट फेरिरहनुपर्ने भएकाले फाहोरलाई व्यवस्थित पार्ने काम भने महानगरले नै गरेको गरेको घिमिरेको भनाइ थियो । उनका अनुसार महानगरले वडा नं ३ र २४ मा फोहोरमैला विसर्जनको अन्तिम विन्दु राखेको छ । वडा नं २१, २३, २४, २६, २७ र २८ मा उत्सर्जन भएको फोहोरलाई वडा नं २४ को डम्पिङ्ग साइट र बाँकी वडाको फोहोरलाई वडा नं ३ नारायणी नदी किनारको जमिनमा व्यवस्थापन गर्ने गरिएको छ । दक्षिण कोरियाली सरकारको सहयोगमा फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन भइरहेको जनाउँदै महानगरले फोहोर व्यवस्थापनका लागि चाँडै नै निश्चित क्षेत्र तोकिने बताएको छ । महानगरको वडा नं ११ स्थित जलदेवी क्षेत्रमा नेपाल सरकारले महानगरलाई भोगचलनको अधिकार दिएको भनिएको १५ बिगाहा जमिनमा ल्याण्डफिल साइट बनाउने बारेमा अध्ययन भइरहेको पनि घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार उक्त ठाउँमा व्यवस्थित ल्याण्डफिल साइट बनाउन करिब १० लाख अमेरिकी डलर (साढे ११ करोड रुपैयाँ)को आवश्यकता पर्नेछ ।
हाल फोहोर सङ्कलन गरेबापत घरधनीसँग लिने गरिएको सरसफाइ शूल्कले पाँच वर्षअघिको समयसँग मात्रै सान्दर्भिकता राख्ने भन्दै घिमिरेले समयको मागअनुसार सरसफाइ शूल्कमा पनि परिमार्जन गरिएको बताए । “हिजोको पैसाको तुलनामा आजको उही पैसाको मूल्य कम हुँदै गएको छ । सरसफाइ शूल्क पनि सोही अनुसार प्रत्येक दुई–दुई वर्षमा समायोजन गर्ने भनेका थियौं, तर विविध कारणले गर्दा केही ढिलो हुन पुग्यो”, उनले भने । सरसफाइ शूल्कलाई परिमार्जन गर्नुपूर्व सबै सरोकारवालाहरूसँग समन्वय गरेको उनले बताए । अबदेखि घरधनीले आफूले उत्पादन गरेको फोहोरको मात्राका आधारमा प्रति महिना ५० देखि १६० रुपैयाँसम्म बुझाउनुपर्नेछ । हप्ताको ६ पटक फाहोर सङ्कलन हुने ठाउँहरूमा घरधनीले सरसफाइ शूल्कबापत मासिक १६० रुपैयाँ बुझाउनुपर्ने घिमिरेले बताए । यस्तै, हप्ताको ३ पटक फोहोर सङ्कलन हुने ठाउँका घरधनीले रु. १३०, हप्ताको दुई पटक फोहोर सङ्कलन हुने ठाउँका घरधनीले रु ८० र हप्ताको एक पटक मात्रै फाहोर संकलन गरिने ठाउँका घरधनीले सरसफाइ शूल्कबापत मासिक ५० रुपैयाँ बुझाउनुपर्ने महानगरपालिकाले जनाएको छ । यो शूल्क आगामी चार वर्षसम्मका लागि निर्धारण गरिएको र अन्य महानगरको तुलनामा उक्त शूल्क कम रहेको भरतपुर महानगरको वातावारण शाखाका प्रमुख घिमिरेले बताए ।
वातावरण शाखा प्रमुख वरिष्ठ इञ्जिनियर विराट घिमिरेका अनुसार हाल महानगरले दैनिक ७७ टन फोहोरको व्यवस्थापन गरिरहेको छ । दैनिक लगभग १०० टन फाहोर सङ्कलन हुने भएपनि करिब २३ प्रतिशत फोहोरलाई पुनचक्रीय प्रणालीमा लैजान मिल्ने गरेको महानगरको भनाइ छ । “कतिपय फोहोरलाई रिसाइकल गर्न मिल्ने भएकाले ल्याण्डफिलसम्म ७७ टन फोहोर मात्रै पुग्छन् । तीमध्ये करिब ४९ प्रतिशत फोहोर कुहिने खालका हुने गरेका छन्”, उनले थप्दै भने, “कुहिने फोहोरलाई घरैमा कम्पोष्ट मल बनाएर व्यवस्थापन गर्न मिल्ने भएपनि कुहिने फोहोरलाई नकुहिने फोहोरसँग मिसाउने बानी भने हटेको छैन ।” गाउँघरमा कुहिने फोहोर गाड्न प्रशस्तै जमिन हुने भएपनि शहरमा त्यो सुविधा नभएको बताउँदै घिमिरेले कुहिने फोहोरलाई रिङ्गमा व्यवस्थापन गर्न आग्रह गरे ।
विभिन्न ठाउँमा केही व्यक्तिले रात वा झिसमिसे बिहानीको मौका पारी आफ्नो घरमा उत्पादित फोहोरलाई झाङ्ग वा चौरमा लगेर फाल्ने गरेको गुनासो प्राप्त भएको भन्दै उनले नगरबासीलाई त्यसो नगर्न पनि अनुरोध गरे । कसैले अटेर गरी फोहोर फाले जरीवाना पनि लगाउने उनले बताए । लामो दूरीका सवारीसाधनका यात्रुलाई दिसापिसाब गराउन चालकले गाडीलाई जंगल क्षेत्रमा रोक्ने क्रम नरोकिएको भन्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी, लगायत सबै मिली चालक तथा यात्रुहरूलाई सचेत गराउनुपर्नेमा घिमिरेले जोड दिए । सार्वजनिक शौचालय भएका स्थानमा शौचालयको उपयोग गर्न उनले सबै नगरबासीसँग अपील गरे । महानगरपालिकाले राजमार्ग क्षेत्रमा पर्ने प्रमुख चोकमा यात्रु तथा चालकका लागि व्यवस्थित तथा सुविधासम्पन्न शौचालय पनि स्थापना गर्न लागेको घिमिरेले जानकारी दिए ।




