भरतपुर, ९ चैत
नारायणगढको क्याम्पाचौरमा हुन लागेको ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७’ मा क्यामरुनी खेलाडीहरुको टोलीले पनि सहभागिता जनाउने भएको छ । आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार कूल १० टिममध्ये एक टोली क्यामरुनी खेलाडीहरुको हुनेछ ।
उनका अनुसार चितवनका दुई टोली सहभागी हुनेछन् । विभागीय टोलीहरुसँग पनि अन्तिम चरणमा छलफल गरिरहेको उनले बताए । चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताका लागि प्याराफिट बनाइँदैछ । करिब ३ हजार जना अट्ने गरी प्याराफिट बनाउन लागिएको संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
प्रतियोगिताबाट बचेको रकम स्व. विजयको छोराको अध्ययनका लागि सहयोग गर्ने घोषणा संघले गरेको छ । त्यसैले सहयोगका लागि पनि मैदानमा उपस्थित भएर खेल हेरिदिन संघले अपिल गरेको छ । “आफ्नो जीवन नै फुटबलमा सुम्पिएका खेलाडी र उनको परिवारको साथमा संघ छ है भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरेका हौं”, संघका अध्यक्ष कार्कीले भने, “यसबाट बचेको रकम विजयको छोराको अध्ययनका लागि सहयोग गर्छौं ।”
प्रतियोगितामा चितवनका दुईसहित हेटौँडा, पोखरा, काठमाडौँ, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को बागमती पनि सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागतरुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।




