विद्यार्थीहरूलाई दिइयो स्टेशनरी सामग्री

भरतपुर, ९ चैत्र ।

भरतपुर महानगरपालिका वडा नं २८ लौखरी, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । नारायणघाटका युवा व्यवसायीको समूह चितवन राउण्ड टेबलले सोमबार विद्यालय पुगी त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई कापी तथा पेन्सिल वितरण गरेको हो ।

स्टेशनरी सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वाग्मती प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नमा आफू सदा लागिरहने प्रतिबद्धता व्यक्त गरे । २०५६ सालमा स्थापना भएको विद्यालयले विभिन्न समयमा बाढी र डुबानजस्ता प्रकोप सहेको स्मरण गर्दै सांसद भुर्तेलले विद्यालयका हरेक समस्याहरूलाई निर्मुल पार्नमा आफू सधैं तत्पर रहेको उल्लेख गरे । विद्यालयको जग्गा व्यक्तिको नाममा र व्यक्तिको जग्गा विद्यालयको नाममा हुँदा केही झण्झट उत्पन्न भएको बताउँदै उनले सो विषयमा चाँडै समाधान खोजिने पनि स्पष्ट पारे । विगतका तुलनामा हाल वडामा पूर्वाधारहरूको क्रमिक विकास भइरहेको बताउँदै उनले विद्यार्थीहरूलाई मिहिनेत गर्न नछाड्न अनुरोध गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं २८ का अध्यक्ष आश बहादुर कुमालले विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर उकास्न भविष्यमा आफू पनि निरन्तर खटिरहने बताउँदै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि पनि शुभकामना व्यक्त गरे । नारायणी र राप्ती नदीको संगमस्थल भएका कारण वडा पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण भएको सुनाउँदै वन्यजन्तु र डुबानको भने वडामा भय रहने गरेको उनले बताए ।

विद्यालयकी प्रधानाध्यापक शोभा कुमालले स्टेशनरी सहयोगका लागि चितवन राउण्ड टेबल र सांसद भुर्तेलप्रति आभार प्रकट गरेकी थिइन् । विद्यालयमा अध्ययनरत विद्यार्थीको कूल संख्या करिब १५० रहेको प्रधानाध्यापक कुमालले जानकारी दिइन् ।

यस्तै, चितवन राउण्ड टेबलका अध्यक्ष सुशान्त अग्रवालले आफ्नो संस्थाले शिक्षाप्रति सबैको अधिकार सुनिश्चित होओस् भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरेको बताए । विद्यार्थीहरू शैक्षिक सामग्री तथा पोषाकका कारण शिक्षा ग्रहण गर्नबाट वञ्चित नहोऊन् भन्ने उद्देश्य राखी संस्थाको स्थापना गरिएको उनले जानकारी दिए । कार्यक्रमलाई सरोज पौडेल, रेसल श्रेष्ठ, केविन अग्रवाल, सन्तोष भट्टराई, राहुल अग्रवाल, रवीन पण्डित र प्रतीक अग्रवालको टोलीले सहजीकरण गरेको थियो । विद्यार्थीहरूलाई चकलेट समेत बाँडिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट