भरतपुर, ११ फागुन
नेकपा (प्रचण्ड–माधव समूह)ले चितवनमा आयोजना गरेको विरोधसभा विजयसभामा परिणत भएको छ । प्रतिनिधिसभा विघटन गर्ने नेपाल सरकारको गत पुस ५ गतेको निर्णय बदर गर्ने गरी सर्वोच्च अदालतले फैसला आएलगत्तै यहाँको सभाको स्वरुप परिवर्तन गरिएको हो ।
बुधबार दिउँसो भरतपुरको केन्द्रीय बस टर्मिनल चौरमा विजयसभा गरिँदैछ । “परिस्थित उल्टियो”, नेकपा (प्रचण्ड–माधव समूह)का चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारले भने, “हामीले आयोजना गरेको विरोधसभा अब स्वतः विजयसभामा परिणत भयो ।”
उनले सर्वोच्चले संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गरेको भन्दै सबै जनताले यसलाई विजयोत्सवका रुपमा मनाउनुपर्ने बताए । विरोधसभामा सहभागी हुन आएका यो समूहका सर्वोच्च नेताद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल दुबै विजयसभामा सहभागी हुनेछन् ।
सर्वोच्चको संवैधानिक इजलासले मंगलबार गरेको यो फैसालपछि अब प्रतिनिधिसभा पुनस्र्थापना हुने भएको छ । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश पनि जारी गरेको छ । भरतपुर, ११ फागुन





