भरतपुर, ११ फागुन ।
भरतपुर महानगरपालिका वडा नं ४ अद्वैत चोकमा अटो रिक्सा र बोलेरो ठोक्किँदा दुई जना घाइते भएका छन् । विशाल चोकबाट धर्म चोकतर्फ आउँदै गरेको प्रदेश ०३ ००१ ह ३७७ नम्बरको अटोलाई धारापानी चोकबाट चाणक्य चोकतिर जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१च ०४४० नम्बरको बोलेरोले चोक काट्ने क्रममा मंगलबार बिहान करिब साढे १० बजेतिर ठक्कर दिएको थियो । ठोेक्किएपछि अटो उल्टिन पुगेको थियो । सो क्रममा तनहूँ जिल्ला व्यास नगरपालिका घर भई आफन्तलाई भेट्न चितवन आएका दुई किशोरीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल शिक्षण अस्पताल लगिएको छ । अटोमा सवार अन्य दुई किशोरी र अटो चालकलाई भने चोट लागेको छैन । अटो रिक्सालाई ठक्कर दिएर फरार हुन लागेको बोलेरो तथा बोलेरो चालकलाई स्थानीयले पक्रिएर प्रहरीको जिम्मा लगाएका थिए ।





