हालसम्म देखिएको छैन गम्भीर ‘साइड इफेक्ट’

भरतपुर, ११ फागुन ।

चितवनमा कोरोना भाइरस विरुद्धको खोप लगाएका कसैमा पनि गम्भीर खालको प्रतिक्रिया नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हालसम्म दुई चरणमा चलाइएको अभियानमा जिल्लाका १३ हजार ५०० जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

माघ १७ गते पहिलो मात्राको खोप लगाएका कार्यालयका प्रमुख दीपक तिवारीले आफूमा कुनै पनि गम्भीर खालको असर नदेखिएको बताए । “मैले खोप लगाएको तीन हप्ता अगाडि नै हो । अरुले ज्वरो आएको, टाउको दुखेको समस्या देखिएको बताएपनि मलाई भने त्यस्तो केही पनि भएन”, तिवारीले भने । यस्तै माघ १४ गते पहिलो मात्राको खोप लगाएका भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. मनोज कँडेलले पनि शरीरले गम्भीर प्रतिक्रिया नदेखाएको अनुभव सुनाए । “खोपको असर के हुने होला भन्ने डर चाहिँ थियो । पहिलो रात चिन्ताले राति निद्रा परेन”, उनले अगाडि थप्दै भने, “सिटामोल खाएँ । ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने जस्ता समस्या केही पनि देखिएनन् ।”

फागुन ६ गते खोप लगाएकी कालिका नगरपालिका कार्यालयकी उद्यम विकास सहजकर्ता सन्तोषी कुमालले त्यसको करिब २ दिनसम्म ज्वरो आएको बताइन् । “खोप लगाएपछि स्वास्थ्यकर्मीले सिटामोल पनि दिनुभएको थियो । त्यो खाएपछि भने कुनै पनि असर देखिएको छैन”, कुमालले भनिन् । चितवनमा दोस्रो चरणको खोप अभियानको अन्तिम दिन सोमबार बकुल्हर अस्पताल रत्ननगर, बघौडा अस्पताल माडी र स्वास्थ्य कार्यालयबाट ४८८ जनाले पहिलो मात्राको खोप लिएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार बकुल्हर अस्पतालबाट १२० तथा बघौडा अस्पतालबाट ३० जनाले खोप लिएका हुन् । कार्यालयमा राखिएको खोप केन्द्रमाबाट भने ३३८ जनाले खोप लिएको कार्यालयका प्रमुख तिवारीले बताए । फागुन २ गतेदेखि सुरु भएको दोस्रो चरणको अभियान अन्तर्गत जिल्लाभर ६ हजार ५ सय २७ जनाले पहिलो मात्राको खोप लिएका छन् ।

अभियान अन्तर्गतको पहिलो चरणमा प्राथमिकतामा परेकालाई गत माघ १४ देखि २४ गतेसम्म खोप दिइएको थियो । सो अवधिमा जिल्लाभर कूल ६ हजार ९ सय ७३ जनाले पहिलो मात्राको खोप लिएका थिए ।

अर्काे चरणको अभियान फागुन २३ गतेदेखि

जिल्ला स्वास्थ्य कार्यालयले आगामी फागुन २३ गतेदेखि ६० वर्षभन्दा माथिल्लो उमेर समूहका ज्येष्ठ नागरिक लक्षित खोप अभियान सुरु हुने जनाएको छ । “मन्त्रालयले फागुन २३ गतेदेखि वृद्धवृद्धाहरूलाई खोप लगाउने अभियान सुरु गर्न लागेको छ । हामीले पनि सोही अनुसार तयारी थालेका छौं”, उनले बताए । ज्येष्ठ नागरिकका लागि हरेक वडाका स्वास्थ्य चौकीमा खोप केन्द्र स्थापना गरिने उनले जानकारी दिए । पहिलो मात्राको खोप लिइसकेकाहरूले दोस्रो मात्राको खोप पनि सोही खोप केन्द्रबाट लिनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ । “जिल्लामा पहिलो मात्राको रूपमा जति डोज खोप लगाइयो, दोस्रो मात्रामा पनि त्यति नै डोज खोप आउने हुन्”, स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले अगाडि भने, “एउटा जिल्लामा पहिलो मात्राको खोप लगाएको मान्छेले अर्काे जिल्लामा गएर दोस्रो मात्राको खोप लगाउन खोज्यो भने खोपको व्यवस्थापनमा अफ्ठेरो हुन्छ । त्यही भएर पहिलो र दोस्रो मात्राको खोप लगाउन एउटै खोप केन्द्रमा जानुहुन सबैसँग अनुरोध गर्दछौं ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library