युरेका पब्लिकेसन्सबाट प्रकाशित मोसो उपन्यास आज शनिबार भरतपुरमा सार्वजनिक हुँदैछ । चितवनका पत्रकार सूर्यप्रकाश कँडेलको पहिलो पुस्तक हो यो । अढाइ दशक लामो समय पत्रकारिता गरेका कँडेलले उपन्यासमा पत्रकारलाई नै मुख्य पात्र बनाएका छन् । पत्रकारिताका विकृतिलाई उपन्यासको बिषय बनाएका उनले मुख्य पात्रलाई खलनायकका रूपमा ढालेका छन् । आख्यान पढ्न रुचाउने पाठकका लागि मोसो फरक स्वादको पुस्तक हुने लेखक कँडेलले दावी गरेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा कँडेलसँग गरिएको कुराकानी ।
किताबको नाम मोसो कसरी रहन गयो ?
मोसो उपन्यासमा पत्रकारिताभित्रका विकृतिलाई चिरफार गरिएको छ । यस उपन्यासको नायक पत्रकार हो । पैसाको लागि पत्रकारिताको आचारसंहिता नाघेर कर्म गर्ने मुख्य पात्रको कामले उसलाई खलनायक बनाएको छ । मुख्य पात्रका काला कर्तुत समावेश भएकोले उपन्यासको नाम मोसो जुराइएको हो । मोसोको शाब्दिक अर्थ धुवाँका काला कणहरुको समूह भन्ने हुन्छ । पत्रकारिताभित्र मडारिइरहेका गलत कृयाकलापका धुवाँका काला कणहरुलाई कथावस्तुमा समेटिएकोले कृतिको नाम मोसो रहन गएको हो ।
पत्रकारलाई खलनायक नै बनाउन किन आवश्यक देख्नुभयो ?
समाजमा आँखा चिम्लेर सबै पत्रकारलाई नायकका रुपमा हेरिन्छ । वास्तवमा सबै पत्रकार नायक छैनन् । पत्रकारको आवरणमा गलत कामहरु पनि भएका छन् भन्ने सन्देश दिन पत्रकारलाई खलनायक बनाउन आवश्यक थियो । त्यसैले मोसो उपन्यासको मूलपात्रलाई खलनायक बनाइएको हो ।
पत्रकारितामार्फत सत्कर्म गरिरहेका पत्रकारलाई मोसोको कथा असहज त लाग्दैन ?
मोसोभित्र मुख्य पात्रको चरित्र खराब भएपनि असल पत्रकारको प्रतिनिधित्व गर्ने पात्र (भगवान दाइ) को उपस्थिति गराइएको छ । पत्रकार भन्दैमा सबै असल र सबै खराब हुँदैनन् भन्ने पुस्तकभित्र देखाइएको छ । रुपमा खराब पत्रकार सफल देखिएपनि सारमा असल पत्रकारको इमान उँचो छ भन्ने देखाउन खोजिएको छ ।
पत्रकारितामार्फत् सत्कर्म गरिरहेका पत्रकारले मोसो पढेपछि पत्रकारिताको आडमा यस्तोसम्म हुँदोरहेछ भन्ने महसुस गर्छन् । गलत कर्म गरेर सुख भोग्नुभन्दा असल काम गरेर सुखी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको हो । पत्रकारहरुले इमान बेच्न नपरोस्, सत्कर्म गर्ने पत्रकारले परिवार पाल्न सक्ने वातारण बन्नुपर्छ भन्ने आवाज उपन्यासले उठाएको छ ।
तपाईं के देखेर उपन्यास लेखनमा होमिनु भयो ?
समाचार होस् वा साहित्य, लेखन मेरो लत हो । समाजलाई सन्देश दिने काम लेखनीबाट हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले करिब अढाई दसक बिताएको पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा जस्तो छ, भित्र त्यस्तो छैन है भन्ने सन्देश दिन उपन्यास नै लेख्नु पर्ने आवश्यकता महसुस गरी उपन्यास लेखनमा होमिएको हुँ ।
उपन्यास विधामा लेख्न अलि सजिलो पनि छ र जटिल पनि । सजिलो यस अर्थमा कि आफूले चाहेको सन्देश विभिन्न पात्रमार्फत् एउटा छुट्टै संसार निर्माण गरेर प्रवाह गर्न सकिन्छ । जटिल यस अर्थमा कि विभिन्न पात्र, परिवेश र उपकथालाई मूलकथासँग जोड्न अलि हम्मेहम्मे हुन्छ । मैले समाजलाई दिन चाहेको सन्देश उपन्यासबाट मात्रै सम्भव लागेर यो विधा रोजेको हुँ ।
उपन्यास लेख्न कत्तिको सजिलो हुने रहेछ ?
पाँच सय शब्दको समाचार लेखिरहेको मानिसलाई ५० हजार शब्दको पुस्तक लेख्न पक्कै सजिलो हुँदैन । त्यसमाथि विभिन्न पात्रलाई उभ्याएर उनीहरुमार्फत् आफूले दिन चाहेको सन्देश प्रवाह गर्नु कठिन काम हो ।
समाचार हतारमा लेखिने हुनाले त्यहाँ धेरै समय शब्दसँग खेल्न पाइँदैन । साहित्य लेखन फुर्सदमा गरिने भएकोले शब्दहरुलाई मज्जाले खेलाउन पाइन्छ । आफूले दिन चाहेको सन्देश प्रवाह गर्न सक्ने सक्षम पात्र जन्माई उसलाई विभिन्न भूमिका दिन सकिन्छ । त्यही अनुरुपको परिवेश निर्माण गर्न सकिन्छ । त्यसैले उपन्यास लेख्दा फराकिलो प्लटमा कुद्न पाइन्छ । तर समाचार लेख्नजस्तो सजिलो छैन उपन्यास लेखन ।
आख्यान लेखनलाई निरन्तरता दिने सोच छ कि नाइँ ?
साहित्यमा टिक्न पाठकको माया अपरिहार्य हुन्छ । पहिलो आख्यानले कस्तो प्रतिक्रिया पाउँछ भन्ने कुरामा निरन्तरताको भविष्य लुकेको छ । मेरो लेखाई पाठकलाई मन परेमा, मोसोले पाठकबाट अपार माया पाएमा आख्यान लेखनलाई निरन्तरता दिने सोचमा नै छु । पाठकले मैले सोचेभन्दा बढी माया ममाथि खन्याउनु भयो भने पत्रकारितालाई पूर्णविराम लगाएर आख्यान लेखनमै दौडिरहन पनि सकिन्छ ।
आमपाठकले मोसो किन पढ्नु पर्छ ?
उपन्यास आफैमा एउटा बेग्लै संसार हो । त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ । मोसोमा पनि यी सबै कुरा छन् । सबैभन्दा ठूलो कुरा ‘मोसो’ भित्र एउटा ठूलो सामाजिक सन्देश छ । पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’ बाट पाइन्छ ।
पत्रकारिता क्षेत्रमा करिब अढाई दशक व्यतित गरेको एउटा पत्रकारले देखेको पत्रकारिताको संसार कस्तो रहेछ ? पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा कस्तो देखिन्छ र त्यसभित्रै जीवनको ऊर्जाशील समय बिताएकाहरुले हेर्दा कस्तो देखिने रहेछ ? भन्ने जान्न पनि मोसो पढ्नु पर्छ । मोसोले पत्रकारिताभित्रको कालो कथा बोकेको छ । कस्तो रहेछ त्यो कालो कथा भन्ने जान्न त पुस्तक पढ्नै पर्छ नि ।
‘मोसो’ कस्तो कथा, चरित्र र सन्देश बोकेको पुस्तक हो ?
मैले अघि नै भनिसकेँ, मोसोभित्र पत्रकारिता क्षेत्रको कालो पक्षलाई उजागर गरिएको छ । यसको मुख्य सन्देश श्रमजीवी पत्रकार इमानदार भई काम गरेर पनि परिवार पाल्न सक्ने हैसियतमा पुग्नुपर्छ भन्ने हो । पत्रकारिताभित्र देखा परेका विकृतिहरु हटाउने पहल आवश्यक छ भन्ने पनि हो ।
मोसो उपन्यासको नायक पत्रकार हो । तर ऊ कुबाटोमा हिँडेको छ । पैसाको लागि पत्रकारिताको आचारसंहिता नाघेको छ उसले । यसबाहेक महिला हिंसा, वृद्धवृद्धाका व्यथा, युद्धको पीडा पनि उपकथाका रुपमा आएका छन् । यिनै कथा र उपकथा अनुरुपका चरित्र उपन्यासभित्र छन् ।
मैले पत्रकारितामा बिताएको लामो समयबाट आर्जेको अनुभवको आधारमा लेखिएको कृति हो मोसो । यसभित्र निजी अनुभवजन्य गन्थनमन्थन भन्दा पनि पत्रकारिता क्षेत्रभित्र देखा परेका विसंगतिको उजागर गरिएको छ ।
पाठकले पुस्तक रुचाउँछन् भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
पुस्तक बजारमा निश्चय नै उपन्यासको भिड छ । त्यस भिडमा मोसोले मौलिक पहिचान कायम गर्नेछ भन्नेमा म विश्वस्त छु । किनकि मोसोले जुन कथावस्तु बोकेको छ, त्यस्तो कथानकमा लेखिएको उपन्यास नेपाली साहित्यमा ज्यादै थोरै छन् । पछिल्लो समयमा त त्यस्तो कथावस्तुमा उपन्यास आएकै छैन ।
धेरै वर्षअगाडि ध्रुवचन्द्र गौतमको `उपसंहार अर्थात् चौथो अन्त्य´ र केही वर्षअघि नारायण वाग्लेको `मयुर टाइम्स´ उपन्यासभित्र पत्रकारिताको विषयवस्तु आएका छन् । ती दुई उपन्यासभन्दा मोसो अलि फरक छ । मोसोमा पत्रकारिताभित्रको विसंगतिसँगै प्रेमको स्वाद पनि पाउन सकिन्छ । महिला हिंसा र वृद्धवृद्धाका व्यथासँगै विगतको सशस्त्र द्वन्द्वका घाउ र पीडा उपकथाका रुपमा आएका छन् । निजी अनुभवले पुस्तक लेखनमा धेरै सघाएको छ । त्यसैले पाठकले पुस्तक रुचाउने छन् भन्नेमा म पूर्ण विश्वस्त छु ।