बुटवल, १८ असोज ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् ।
काठमाडौंबाट भैरहवा विमानस्थल आएका मुख्यमन्त्री कडा सुरक्षाबीच बुटवल आउँदै गर्दा बुटवलको राजमार्ग चौराहानजिकै मिलनचोकमा उनको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको हो ।
मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएको र मुख्यमन्त्री पोखरेल सामान्य घाइते भएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले पुष्टि गरे ।
मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरी श्रोतले जनाएको छ । कति क्षति भयो भन्ने यकिन छैन ।
गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र बिष्णु पोखरेललाई पक्राउ गरेको छ । गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।
मुख्यमन्त्री सवार गाडीमा कसले ढुंगा प्रहार गर्यो भन्ने खुलेको छैन ।
प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ । मुख्यमन्त्री शनिबार बिहान पार्टी बैठकपछि काठमाडौ गएका थिए ।
सदनमा पेश गरेको प्रस्तावप्रति असन्तुष्ट पक्षले रुपन्देही बन्दका कार्यक्रमसहित प्रदर्शन जारी राखेका छन् ।





