भरतपुर, १८ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आइतबार खेलिएको पहिलो खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । उसले हैदराबादलाई ३४ रनले पराजित गरेको हो । मुम्बईले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो । उसका लागि जोनी बेयरस्टोले २५ रनको पारी खेल्दा अर्का ओपनर डेविड वार्नले ६० रनको योगदान दिए । वार्नरले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै टोलीलाई जीतसम्म डो¥याउने कोशिस गरेका थिए । १६औँ ओभरमा वार्नर आउट भएसँगै हैदराबादको खेल जित्ने आशा मर्न पुगेको थियो । वार्नरका अलावा मनिष पाण्डेले ३० तथा अब्दुल सामदले २० रनको पारी खेले । केन विलियम्सन र प्रियम गर्ग भने क्रमशः ३ र ८ रनको स्कोरमा आउट भए । मुम्बईका तर्फबाट भने ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जस्प्रित बुम्राहाले २–२ विकेट लिए । बोल्ट म्यान अफ दि म्याच समेत घोषित भए । यस्तै क्रुनाल पाण्ड्याले पनि १ विकेट हात पारे ।
यसअघि शारजाह मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा २०८ रनको योगफल तयार पारेको थियो । उसका ओपनर क्विन्टन डि ककले ६७ रन बनाएको खेलमा सूर्यकुमार यादवले २७ रनको योगदान दिए । ३९ बलको सामना गरेका डि ककले ४–४ चौका र छक्का जोड्दा यादवले ६ वटा चौका प्रहार गरे । पारीको पहिलो ओभरमै आउट हुन पुगेका कप्तान रोहित शर्माले ५ बलमा ६ रन बनाउँदा एउटा छक्का प्रहार गरेका थिए । यस्तै इशान किशनले २३ बलमा ३१ रन बटुल्दा हार्दिक पाण्ड्या १९ बलमा २८ रन बनाएर आउट भए । हार्दिक आउट भएपछि पारीको अन्तिम चार बल खेल्न ओर्लिएका उनका दाजु क्रुुनाल पाण्ड्याले दुई छक्का र दुई चौकाको मद्दतमा नट आउट २० रनको योगदान दिए । १३ बलमा ३ छक्का प्रहार गरेका किरोन पोलार्ड भने २५ रनमा अविजित रहे । बलिङमा भने हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कौलले समान दुई–दुई विकेट हात पारे । यस्तै लेग स्पीनर रसिद खानको नाममा पनि एक विकेट रह्यो ।
जीतसँगै मुम्बईले दुई अंक हात पारेको छ । आफूले खेलेका ५ खेलमध्ये ३ मा जीत हात पार्दै मुम्बई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । पाँच खेल खेल्दै ३ मा हार बेहोरेको हैदराबाद भने ४ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।





