भरतपुर, १८ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितसँगै नेपालमा हाल कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौंमा १ हजार ३७३ जना संक्रमित थपिएका छन् । अन्य जिल्लाहरूमा मोरङमा ८१, भक्तपुरमा ३९, ललितपुरमा १८७ र चितवनमा ५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रुपन्देहीमा ५२ र सिराहामा ७ जना संक्रमित थपिएका छन् । माथि उल्लेख गरिएका जिल्लाहरूमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा नवलपुरमा ४० र सुर्खेतमा ५४ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार हाल विभिन्न तीन जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।
देशमा हालसम्म पुष्टि भएका कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या भने २२ हजार २१९ रहेको छ । सक्रिय संक्रमितमध्ये १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी ११ हजार ८९३ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ७ हजार ६५५ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ७ हजार १५३ जना संक्रमित होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ४९३ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भई १ हजार ३२९ जना घर फर्किएका हुन् । सो सँगै हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कूल संक्रमितको करिब ७३.७ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म २० हजार ४९३ जना संक्रमणमुक्त भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मन्त्रालयले जनाएअनुसार मृतकमध्ये ४ जना महिला हुन् भने ३ जना पुरुष हुन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ५३५ पुगेको छ । पछिल्लो एक दिनमा वाग्मती प्रदेशका मात्रै ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मकवानपुरमा ३ दिनकी बच्चीको समेत कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।
मन्त्रालयले हालसम्म पीसीआर विधिबाट हालसम्म कूल १० लाख ७४ हजार ४४८ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १२ हजार ७८४ वटा परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ३४ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने २२६ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २७ जनाको भेण्टिलेटरमा तथा ११२ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





