भरतपुर, १८ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इण्डियन्स विरुद्ध सनराइजर्स हैदराबाद उत्रँदै छ भने दोश्रो खेलमा चेन्नई सुपर किंग्स र किग्स इलवेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
मुम्बई र हैदराबादबीचको खेल शारजाह मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । जारी प्रतियोगितामा दुवै टोलीले समान चारमध्ये दुई खेलमा जीत हात पारेका छन् । दुवै टोलीको समान ४–४ अंक छ । नेट रन रेटका आधारमा मुम्बई तालिकाको तेश्रो स्थानमा छ भने हैदराबाद चौँथो स्थानमा रहेको छ । आफूले खेलेका चारै खेलमा मुम्बईका ब्याट्सम्यानहरूले उत्कृट प्रदर्शन गरेका छन् । किरोन पोलार्ड, इशान किशन, हार्दिक पाण्ड्या तथा कप्तान रोहित शर्मा जस्ता खेलाडीको उपस्थितिले टोलीको ब्याटिङ लाइनअप मजबुद बनेको छ । प्रतियोगितामा मुम्बईका बलरहरूको प्रदर्शन केही फिक्का रहेको भएपनि पञ्जाब विरुद्धको खेलमा उनीहरूले सुधारिएको प्रदर्शन गरेका थिए । शारजाहको मैदान यसै पनि सानो आकारका भएकाले हैदराबादलाई थोरै स्कोरमा रोक्न मुम्बईका बलरहरूले कडा परिश्रम गनुपर्ने देखिन्छ । यता हैदराबादका बलरले उच्चकोटीको प्रदर्शन गर्ने गरेका भएपनि ब्याट्सम्यानहरूले साथ नदिँदा ऊ पटकपटक हार्न बाध्य बन्नुपरेको छ । जारी प्रतियोगितामा कप्तान डेविड वार्नरको ब्याटबाट रन नबन्नु हैदराबादका लागि चित्ताको विषय बनेको छ । मुम्बई र हैदराबादबीच हालसम्म १४ पटक भेट भएको छ । जसमा दुवैले ७–७ खेल जितेका छन् । एक खेल भने मुम्बईले सुपर ओभरको सहायताले जितेको हो ।
चेन्नई र पञ्जाबबीचको खेल भने दुबई क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुँदैछ । दुवै टोलीले समान ४ खेल खेल्दा १ खेलमा मात्रै जीत चाख्न पाएका छन् । चार खेलबाट दुई अंक जोडेका पञ्जाब र चेन्नई अंकतालिकामा क्रमशः सातौँ र आठौँ स्थानमा रहेका छन् । हालसम्म आफूले खेलेका सबै ११ संस्करणका आइपिएलमा प्ले अफको यात्रा तय गर्न सफल रहेको चेन्नई भने यस पटक खराब फर्मबाट गुज्रिरहेको छ । आफूलाई उत्कृष्ट फिनिसरको रूपमा चिनाएका कप्तान महेन्द्र सिंह धोनी पनि पुरानो लयमा देखिएका छैनन् । फाफ डु प्लेसिस बाहेक अपेक्षा गरिएका अन्य खेलाडीले प्रदर्शन गर्न नसक्दा चेन्नई लगातार हार भोग्न बाध्य बनेको हो । यता पञ्जाब भने उत्कृष्ट ब्याटिङका बावजुद पनि अन्तिम समयमा सम्हालिन नसक्दा हार बेहोर्न बाध्य बनेको छ । दिल्ली विरुद्धको खेलमा शनशनीपूर्ण खेल पस्किएको पञ्जाब सुपर ओभरमा हार्न पुगेको थियो । उता राजस्थान विरुद्धको खेलमा पनि विपक्षी टोलीका खेलाडी राहुल तेवतियाको नाटकीय प्रदर्शनमा पञ्जाब हार्न पुगेको थियो । पञ्जाब र चेन्नई एकआपस विरुद्ध हालसम्म २१ पटक मैदानमा उत्रिएका छन् । जसमध्ये १२ खेल चेन्नईले जित्दा ९ खेलमा पञ्जाबले बाजी मारेको छ । पञ्जाबले एक खेल भने वान ओभर इलिमिनेटरमा जितेको हो ।





