भरतपुर, १८ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति खेलिएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराएको हो । युएईको शारजाह मैदानमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछ्याउन उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१० रन मात्रै बनाउन सक्यो ।
कोलकत्तालाई लक्ष्यसम्म लैजान इयोन मोर्गन र राहुल त्रिपाठीले अन्तिम समयसम्म हरसम्भव प्रयास जारी राखेका थिए । सानो मैदानको फाइदा उठाउँदै मोर्गन र त्रिपाठी दुवैले दिल्लीका बलरमाथि धावा बोलेका थिए । जम्मा १८ बलको सामना गरेका मोर्गनले ४४ तथा १६ बल खेलेका त्रिपाठीले ३६ रन बनाएर लक्ष्य भेट्टाउने प्रयास जारी राखेका थिए । मोर्गनले ५ छक्का र १ चौका प्रहार गर्दा त्रिपाठीले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । पारीको १८औँ ओभर बलिङ गर्न आएका कागिसो रबाडाले फ्याँकेका पहिलो तीन बलमा मोर्गनले लगातार तीन छक्का जोडेका थिए । त्यसपछिको ओभरमा मोर्गन आउट भएपछि त्रिपाठीमाथि खेल जिताउने जिम्मेवारी सरेको थियो । अन्तिम ओभरमा खेल जित्न कोलकत्तालाई २६ रन चाहिएकामा त्रिपाठीले ओभरको पहिलो बलमा चौका प्रहार गरे । दोश्रो बलमा भने मार्कस स्टोइनिसले कमब्याक गर्दै त्रिपाठीलाई बोल्ड गरेका थिए । त्रिपाठी आउट भएपछि दिल्लीको जीत सुनिश्चित भएको थियो । कोलकत्ताका तर्फबाट मोर्गन र त्रिपाठीका अलावा नितीश रानाले ५८ तथा शुभमन गीलले २८ रनको योगदान गरेका थिए । दिल्लीका तर्फबाट भने एरिन्च नोकियाले ३, हर्सल पटेलले २ तथा स्टोइनिस, अमित मिश्र र रबाडाले एक–एक विकेट लिए ।
यसअघि कोलकत्ताले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । दिल्लीका कप्ता श्रेयस अय्यरको तुफानी पारीका मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रनको योगफल तयार ग¥यो । म्यान अफ दि म्याच समेत बनेका अय्यरले ३८ बलमा नट आउट ८८ रनको योगदान गरे । उनी एक्लैले ७ चौका र ६ छक्का प्रहार गरेका थिए । ओपनरद्वय पृथ्वी स र शिखर धवनले पनि क्रमशः ६६ र २८ रनको पारी खेले । त्यसैगरी विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले १७ बलमा ३८ रन जोडी आउट भए । कोलकत्ताका तर्फबाट भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र कमलेश नगरकोटीले एक–एक विकेट हात पारे ।
खेलमा जीत हात पारेसँगै दिल्लीले २ अंक हात पारेको छ । चार खेल खेलेको दिल्ली ३ खेलमा जीत र १ मा हार निकाल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान ४ खेल खेल्दा दुईमा जीत र दुईमा हार भोगेको कोलकत्ता भने ४ अंक सहित पाँचौ स्थानमा पुगेको छ ।





