प्राथमिक उपचार अपरिहार्य

भरतपुर, २७ भदौ ।

हरेक वर्ष सेम्टेम्बर महिनाको १२ तारिखलाई प्राथमिक उपचार दिवसको रूपमा मनाउने गरिन्छ । कुनै पनि दुर्घटनामा घाइते हुनेलाई बचाउन प्राथमिक उपचारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालमा पनि हरेक वर्ष सयौँ जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो भने पनि उसको ज्यान जोगिने सम्भावना बढेर जान्छ । यसै सन्दर्भमा रहेर आज हामीले भरतपुर महानगरपालिका वडा नं १० स्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रमोद लामिछानेसँग कुराकानी गरेका छौं । प्रस्तुत छ डा. लामिछानेसँग हाम्रा सहकर्मी शिव गौतमले गरेको कुराकानी

प्राथमिक उपचार भनेको के हो ?
कुनै व्यक्तिलाई चोटपटक लागेपछि वा ऊ बिरामी भएपछि अस्पताल पु¥याउनुअघि गरिने सबैभन्दा सुरुको उपचार पद्दतिलाई प्राथमिक उपचार भनिन्छ । घरभि त्र वा बाहिर अकस्मात् कुनै दुर्घटना भएर शरीरमा कतै चोटपटक लाग्यो भने त्यो अंगलाई जोगाउन गरिने सामान्य उपचारलाई पनि प्राथमिक उपचार भनी बुझ्नुपर्छ ।

राजमार्ग वा अन्य कुनै सडकमा सवारीसाधनको दुर्घटना भयो भने घाइतेको उद्धारमा त्यहाँका स्थानीयले खेल्नुपर्ने भूमिका के–के हुन्छन् ?
दुर्घटना भएको स्थानमा गरिने पहिलो उपचार नै ठूलो उपचार हुन्छ । कुनै घाइतेको हातखुट्टा या अरु कुनै भाग भाँचिन पुगेको छ भने उसलाई जथाभावी बोकेर गाडीभित्र वा एम्बुलेन्समा राख्नु हुँदैन । सकेसम्म बिरामी बोक्नका लागि स्प्लीन्टीङ विधि अपनाउनुपर्छ । त्यसो गर्न सम्भव नभएका खण्डमा बिरामीको एउटा खुट्टालाई अर्काे खुट्टासँग हलुका रूपले बाँध्नुपर्छ । अथवा सिधा काठमा घाइतेको खुट्टालाई रुमालले बेरेर मात्रै उसको शरीरलाई उचाल्नुपर्ने हुन्छ । घटनास्थलमा कस्ता प्रकृतिका घाइतेलाई पहिले उद्धार गर्ने विषय पत्ता लगाउन पनि चुनौतीपूर्ण हुनसक्छ । त्यस्तो अवस्थामा चिच्याइरहेका घाइतेहरूलाई भन्दा बेहोस भएका वा बोल्न नसकेका घाइतेलाई चाँडो अस्पताल पु¥याउनुपर्ने हुन्छ । धेरैजसो अवस्थामा चिच्याउन नसकेका घाइतेहरूमा गम्भीर चोट पुगेको देखिएको छ । उनीहरूको टाउको, छाती, मुटु, जस्ता संवेदनशील भागमा बढी चोट पुगेको हुनसक्छ । सामान्य घाउ चोटपटक लागेका घाइतेको घाउमा माटो वा धुलो हुनसक्ने भएकाले त्यसलाई सफा पानीको मद्दतले पुछ्नुपर्ने हुन्छ । उद्धार गर्ने काम गरिरहँदा उद्धारकर्ताले ध्यान भने पु¥याउन जरुरी हुन्छ ।

घाइतेको उद्धार गरिरहँदा उनीहरूसँग कसरी प्रस्तुत हुनुपर्छ ? उनीहरूको अगाडी कस्ता कुरा गर्नुहुँदैन ?
दुर्घटनामा परेका कुनै पनि घाइतेको अगाडी नकारात्मक कुरा गर्नुहुँदैन । घाइतेको प्रकृति सामान्य छ भने पनि कहिलेकाहीँ तर्सिएर उसको अवस्था झन् बिग्रन सक्छ । तसर्थ घाइतेको वरिपरि हुनेले उसको मनोबल बढ्ने खालका कुराहरू मात्रै गर्नुपर्छ । घाउ सामान्य रहेछ, तपाईँलाई निको हुन्छ, भन्ने जस्ता वाक्य बोलिदिँदा घाइतेलाई हौसला मिल्ने गर्छ । ओहो ! तपाईँलाई त एकदमै धेरै चोट लागेछ भन्ने जसरी कुरा गर्दा घाइते आत्तिन सक्छ ।

उदाहरणका लागि एउटा घाइतेलाई प्राथमिक उपचार दिएर अस्पताल पु¥याइयो । सोही प्रकृतिको अर्काे घाइतेलाई प्राथमिक उपचार नदिइकनै अस्पताल पु¥याइयो । चिकित्सकहरूलाई माथिका दुईमध्ये कुन घाइतेको उपचार सहज बन्न सक्छ ?
प्राथमिक उपचार गरेर अस्पतालसम्म ल्याइएको बिरामीमा चाँडै सुधार आउने सम्भावना हुन्छ । कुनै सवारीसाधनको दुर्घटनामा परेको व्यक्तिलाई अघि भनेजस्तो तरिकाले शरीर सिधा नबनाई अस्पताल पु¥याउँदा उसमा अझै बढी जटिलताहरू देखिन सक्छन् । नशा च्यापिएका रहेछन् भने लामो समयसम्म त्यसरी नै रहँदा रगतको सञ्चार रोकिने हुुनसक्छ । अनि घाउ वा चोटपटकलाई सफा नगरी अस्पताल पु¥याउँदा घाउमा संक्रमण हुने सम्भावना पनि बढेर जान्छ । सानादेखि ठूलासम्मका दुर्घटनामा घाइते हुन पुगेकालाई प्राथमिक उपचार दिने हो भने उसको ज्यान जोगाउन पनि सहज हुन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट